भरतपुरको क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भरतपुरमा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद सुरु

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण
भरतपुरको क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद–२०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

भरतपुरको रामपुरमा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने–  राष्ट्रिय गौरवको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई समावेश गर्दै आवश्यक बजेट प्रबन्ध हुँदै छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था हुने बताएका छन् । भरतपुरको रामपुरमा आइतबार निर्माणाधीन क्रिकेट रंगशालामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद–२०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको रंगशालाको निर्माणका लागि आवश्यक बजेट निकासा हुने प्रतिबद्धता दिएका हुन् । ‘राष्ट्रिय गौरवको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई समावेश गर्दै आवश्यक बजेट प्रबन्ध हुँदै छ,’ उनले भने । 

प्रचण्डले ओलम्पियन सिंह थापा, वैकुण्ठ मानन्धर, राजकुमारी‌ पाण्डे, दीपक विष्टलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा प्रचण्डले रंगशालामा देखिएका विभिन्न समस्याको एकीकृत समाधान हुने विश्वास दिलाएका छन् । ‘राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपछि रंगशाला निर्माणकार्यमा यसअघि देखिएका विभिन्न समस्याको एकीकृत समाधान हुनेछ,’ उनले भने, ‘निर्माणकार्य द्रुत रूपमा अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत अवगत गराउँछु ।’

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्टस् हब’का रूपमा विकास हुने प्रधानमन्त्रीको विश्वास छ । ‘रंगशाला निर्माणपछि यहाँ ठूला राष्ट्रियस्तरका प्रतियोगिता सम्पन्न गर्ने उपयुक्त वातावरण मिल्नेछ, यसले यस क्षेत्रलाई स्पोर्टस् हबका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘प्रतियोगिताले युवा पलायन रोक्नसमेत मद्दत पुग्नेछ । राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयामिक महŒव रहने विश्वास लिएको छु ।’ 

यसरी हुँदै छ प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद 
सातै प्रदेशका टोलीको सहभागिता रहेको प्रतियोगितामा नौ खेल समावेश छन् । १ वैशाखसम्म चल्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भलिबलको महिला र पुरुषका समूहको खेल भरतपुरको गेस्टहाउस चौरमा हुने आयोजकले जनाएको छ । महिला फुटबल भरतपुर शारदानगरको बखान स्मृति रंगशालामा हुनेछ । गौरीटार रंगशाला हेटौँडामा पुरुष फुटबल हुनेछ । पुरुष र महिला क्रिकेट रामपुरमा निर्माणाधीन रंगशालाको नमुना मैदानमा हुने आयोजकले जनाएको छ । 

बक्सिङ, कराँते र तेक्वान्दो भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । ब्याडमिन्टन भरतपुर कभर्डहलमा र एथलेटिक्स भरतपुर शारदानगरको चित्रवन रंगशालामा हुने आयोजकले जनाएको छ । पौडी खेल भरतपुर देवनगरमा रहेको हवेलीको स्विमिङ पुलमा हुनेछ । प्रतियोगितामा तीन हजारभन्दा बढीको सहभागिता रहने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने उनले बताए । 

स्वर्ण विजेताले पाँच हजार पाउने
प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने भण्डारीले बताए । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन हेटौँडाको गौरीटार रंगशालामा हुनेछ ।

See More On

सुझावित समाचार