बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिने भएका छन्। बागमती प्रदेश संसद् सचिवालयले मुख्यमन्त्री जम्कट्टेलले आउँदो १९ चैतमा विश्वासको मत लिन लागेको जानकारी गराएको छ।
संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराउँदै १९ गते सोमबारका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका जानकारी दिए।
गत २३ फागुनमा कांग्रेसका ६ मन्त्रीले सरकारबाट राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। अल्पमतमा परेका मुख्यमन्त्रीलाई हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्य सरकारमा सहभागी भएसँगै विश्वासको मत मिल्ने देखिएको छ।
बागमती प्रदेश संसद् सचिवालयका सचिव खड्काले मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराउँदै १९ गते सोमबारका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका जानकारी दिए।
जम्कट्टेललाई प्रदेश सभामा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदको साथ रहने छ। एक सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक रहेकोमा बिहीबार हानेपाका नेता बज्राचार्य सरकारमा सहभागी भएसँगै नयाँ गठबन्धनलाई बहुमत पुगेको हो। यसअघि सत्तागठबन्धनका दलहरू एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका सात गरेर जम्मा ५५ सांसद मात्रै जम्कट्टेलको पक्षमा थिए।
तेस्रोपटक विश्वासको मत लिन लागेका मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष ३ माघ र १० चैतमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।