मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– ११ का ३० वर्षीय अनिल विक छन् ।

बुधबार राति १ बजेतिर मध्यविन्दु नगरपालिका– ११ दमारचोकस्थित भित्री सडकखण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु. ७६प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

नवलपुर प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकलपछाडि बसेका विक गम्भीर घाइते भएका थिए । 

उनको मध्यविन्दु अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो । मोटरसाइकलचालक मध्यविन्दु– ११ का २८ वर्षीय कृष्णबहादुर विक र मोटरसाइकलमै बसेका २५ वर्षीय अझै ठकुरी घाइते भएका छन् । उनीहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार