हङकङले ब्याटर बाबर हायतको शतक मद्दतमा नेपाललाई पहिलो टी–२० खेलमा दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शनिबार हङकङको मोङकोकमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। निजाकात खानको कप्तानीमा रहेको हङकङले सुरुवाती ब्याटिङ गरेको हो।
हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १३ रन बनायो। हङकङको इनिङ्समा बाबरले शतकीय इनिङ्स खेले। उनले ४९ बलमा तीन चौका र १३ छक्कासहित ११० रन बनाएका हुन्।
यसअघि ४६ बलमा तीन चौका र १२ छक्कासहित शतक बनाएका थिए। उनले डेब्यु गरिरहेका आकाश चन्दलाई छक्का प्रहार गर्दै शतक बनाए। आकाशले नै कप्तान रोहितबाट बाबरलाई अन्तिम बलमा क्याच आउट गराएका थिए।
३२ वर्षीय दायाँहाते ब्याटरले दोस्रो सतक बनाएका हुन्। ५०औँ खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध एक सय २२ रन बनाएका थिए।
यसैगरी, अन्सुराथले ३२ बलमा ३९ रन बनाए। उनले दुई चौका र आठ छक्का प्रहार गरेका हुन्। यसअघि अोपनर मार्टिन कोइटजीले २१ बलमा पाँच चौका र एक छक्कासहित ३१ रन बनाएका हुन्। ऐजित खानले ११ बलमा २१ रन बनाएर अविजित रहे।
नेपालका आकाश चन्दले तीन विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यही खेलबाट युवा बलर आकाश चन्दले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। आरिफ सेखल, प्रतिश जिसी, आकाश चन्दा र रसिद खानले समान एक विकेट हात पारे। गुल्सन झा, विवेक यादव र सागर ढकाल विकेटविहीन भए।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारी लागि हङकङसँग खेल्न लागेको हो। प्रशिक्षक मोन्टी देसाईले अनुभवी केही खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएका छन्।