झापा गोल्डकप : चर्च ब्वाइजको कठिन जित

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

विदेशी खेलाडी अवयामीको एक मात्र गोलको सहयोगमा मंगलबार चर्च ब्वाइज युनाइटेडले न्युरोड टिम (एनआरटी)लाई १–० ले हराउँदै छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजलाई अन्तिम चारमा पुर्याउन अवयामीले सन्जित राईको सटिक पासमा गोल गरेका हुन् । अवयामी डिबक्सभित्र अनमार्कमा रहेका थिए ।

पहिलो हाफमा आक्रामक देखिएको चर्च ब्वाइज दोस्रो हाफमा रक्षात्मक रणनीतिमा प्रतिस्पर्धा गरेको थियो । एनआरटीको फिनिसिङ लाइन निकै कमजोर देखिन्थ्यो । एनआरटीका विदेशी स्टाइकर अफिज ओलावले खासै चल्न सकेनन् । एनआरटीले चर्च ब्वाइजविरुद्ध बल पोसेसन बलियो राखे पनि फिनिसिङमा चुकेको थियो । 

चर्च ब्वाइजको तुलनामा एनआरटीले धेरै मिस पास खेलेको थियो । खेलको ३२औँ मिनेटमा चर्च ब्वाइजका मिलन राईले पेनाल्टी क्षेत्रमा एनआरटीका गोलरक्षक पुजन होनासँग वान टु वानमा गोल गर्न सकेनन् । खेलको ८६औँ मिनेटमा चर्च ब्वाइजले दोहोरो अग्रता लिने मौका चुकायो । मैदानको मध्य भागबाट चर्च ब्वाइजका बिजु भुजेलले एक्लै लगेको बल विपक्षी रक्षक पुजन होनालाई बिट हुँदा गोल गर्न चुके । 

मैदानको दायाँ भागबाट उनले गरेको प्रहार बायाँ पोस्टनजिकैबाट बाहिरियो । दोस्रो हाफमा चर्च ब्वाइजले खासै मौका बनाउन सकेन । ‘ए’ डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजको प्रदर्शन मध्यान्तरपछि उत्कृष्ट भएन । दोस्रो हाफमा एनआरटी चर्च ब्वाइजमाथि हाबी भयो । 

टिम सेट हुन समय लाग्यो
रुबेन राई, प्रशिक्षक, चर्च ब्वाइज

अहिले हाम्रा केही खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । स्तरीय खेलाडी साथ नहुँदा एनआरटीविरुद्ध सोचे प्रदर्शन हुन नसकेको हो । झापामा सहभागी हुन खेलाडीबीचको टिम सेट गर्नका लागि समय पनि पुगेन । त्यसकारण, अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको हो । 

फिनिसिङमा अभाव देखियो
जीवन सिंकेमान, प्रशिक्षक, एनआरटी

मध्यान्तरपछि एनआरटीको प्रदर्शन राम्रो भएको थियो । यस अवधिमा हामीले चर्च ब्वाइजमाथि दबाब राख्न सफल भयौँ । तर, हाम्रो टोलीको फिनिसिङ अभाव देखियो । यसकारण नै राम्रो गोल अवसरमा समेत खेलाडी चुके । खेलाडीबीच तालमेल नमिल्दा हार व्यहोर्न पुग्यौँ ।

सुझावित समाचार