सूर्य नेपाल च्यालेन्ज आजदेखि

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिएका छन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने आचार्यले बताए । 

कुल पाँच लाख ७२ हजार दुई सय ५० नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले एक लाख प्राप्त गर्नेछन् । उपविजेताले ६७ हजार र तेस्रो हुने खेलाडीले ४८ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, चौथो हुनेलाई ४० हजार र पाँचौँ हुनेलाई ३६ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । यसपटक प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केही अप्ठ्यारो बनाइएको छ ।

जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान आयोजकले गरेको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी सुरु गरिसकेका छन् । तीनवटा रेकर्डसहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन् । सिजनमा सानदार सुरुवात गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान छ । 
प्रोफेसनल गल्फरहरूलाई युवा एमेच्योर तथा साबिक विजेता सद्भाव आचार्यले कडा चुनौती दिनेछन् । गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सद्भाव पनि उच्च फर्ममा रहेका छन् । 

सुझावित समाचार