साइन रेसुंगा डेभलपमेन्ट बैंक १६औँ वर्षमा प्रवेश

शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण

वार्षिकोत्सवमा उत्कृष्ट शाखालाई सम्मान

बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक १६औँ वर्षमा प्रवेश गरेको छ । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको साइन रेसुंगा डेभलपमेन्ट बैंक विभिन्न स्थानमा रहेका बैंकहरूसँग मर्ज भई राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ।

यस बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा रहेको अध्यक्ष थानेश्वर पौडेलले बताए। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरूले पाँचवटा विकास बैंकहरू मर्ज भएर बनेको साइन रेसुंगा बैंक लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए। बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड पाएको छ ।

उत्कृष्ट शाखालाई सम्मान
शुक्रबार आयोजित समारोहमा बैंकले उत्कृष्ट ग्रामीण शाखाका रूपमा अर्घाखाँचीको मालारानी गाउँपालिकाको खनदह शाखा र उत्कृष्ट सहरी शाखाको रूपमा काठमाडौंको नयाँ बानेश्वर शाखालाई पुरस्कृत गरेको छ ।  

यस अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाइ तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको बताए । 

ग्रामीण क्षेत्रका विद्यालयहरूलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्रामअन्तर्गत सरकारी विद्यालयहरूमा डिजिटल उपकरणहरू प्रदान  गरिएकोे अध्यक्ष पौडेलले बताए । 

आर्थिक पत्रकारिता पुरस्कार
नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको हो । यस बैंकका ६ लाख ८० हजारभन्दा बढी ग्राहक संख्या रहेको र बैंकले  ९७४  जनालाई रोजगारी दिएको छ । 
 

सुझावित समाचार