पोखराको हिमालयन गल्फ कोर्समा भुवनले १० अन्डर एक सय ९७ को स्कोर गर्दै करिअरकै ११औँ उपाधि हात पारे
नेपालका पूर्वनम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । ५४ होलको प्रतियोगिता १० अन्डर एक सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा भुवनले अहिलेसम्मकै उत्कृष्ट स्कोर राखेका छन् । उनले सन् २०१७ मा शिवराम श्रेष्ठले राखेको नौ अन्डरको रेकर्ड तोडेका हुन् । प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । उनले बिहीबार सात अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए । पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा भुवनले समग्रमा १० अन्डर एक सय ९७ को सानदार स्कोर गरी करिअरकै ११औँ उपाधि जिते ।
उनले उपाधि जित्दा रवि खड्का र एमेच्योर सद्भाव आचार्यलाई १२ स्ट्रोकले पछाडि राखे । उपाधिसँगै भुवनले एक लाख ४० हजार रुपैयाँ जिते । भुवनले अन्तिमपटक सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेका थिए । रवि र सद्भावले समग्रमा दुई ओभर दुई सय नौ को स्कोरमा दोस्रो स्थान बाँडे । रवि र सद्भावले अन्तिम दिन एक ओभर ७० मा खेल सके । रविले ९६ हजार प्राप्त गरे । एमेच्योरतर्फ सद्भावले उपाधि जिते । सद्भावले प्रज्वल गुरुङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५ ओभर दुई सय २२ स्कोर गरे ।
सुरुमै ११ स्ट्रोकको अग्रता
११ स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको सुरु गरेका भुवनलाई अन्य कुनै पनि गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्ट नाइन इभन पार ३४ को स्कोर गरे । पहिलो र पाँचौँ होलमा बर्डी निकाले । उनले चौथो र सातौँ होलमा बोगी प्रहार गरे । उनले ब्याक नाइन पनि इभन पार ३५ स्कोर गरे । उनले १४औँ र १८औँ होलमा समान एक सट खेर फाले । रविले फ्रन्ट नाइनमा तीन ओभर ३७ को स्कोर गरेका थिए । ब्याक नाइनमा सम्हालिँदै रविले १५औँ र १८औँ होलमा दुई बर्डी प्रहार गरे । उनले ब्याक नाइन दुई अन्डर ३३ को स्कोर गरेका थिए ।
संयुक्त रूपमा दोस्रो भएका एमेच्योर विजेता सद्भावले फ्रन्ट नाइन इभन पार ३४ स्कोर गरेका थिए । उनले पहिलो होलमा बोगी र सातौँ होलमा बर्डी खेपे । नीरजले फ्रन्ट नाइन एक ओभर ३५ र ब्याक नाइन एक अन्डर ३४ मा सके । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रोएम प्रतियोगिता हुनेछ । जसमा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले
भाग लिनेछन् ।