हमास नेताहरूले गाजामा हुने कुनै पनि युद्धविराम सम्झौतामा सन् २००५ देखि इजरायली जेलमा रहेका मारवान बारघुटीको रिहाइ समावेश हुनुपर्ने घोषणा गरेका छन् । लोकप्रिय प्यालेस्टिनी नेता बारघुटी आगामी युद्धविरामका चुरो मात्र होइनन्, इजरायल र प्लालेस्टाइनबीच ‘दुई राष्ट्र समाधान’ व्युँताउन सक्ने सबैभन्दा बलियो आधार हुन सक्छन् । विगत दुई दशकभन्दा लामो समयदेखि इजरायली जेलमा रहेका बारघुटी अझै पनि प्यालेस्टिनीमाझ लोकप्रिय र सम्मान्नित छन् ।
हाल ६४ वर्षका बारघुटी किशोरकालदेखि ‘प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन (पिएलओ)’भित्रको प्रमुख शक्ति फताहमा सक्रिय रहे । दशकौँअघि उनले फताहको युवा अभियान ‘सविवा’का स्थापनामा मुख्य भूमिका खेलेका थिए । त्यसपछि उनी फताहका तल्लो तहका कार्यकर्ता परिचालन गर्ने संगठन ‘तान्जिम’को नेतृत्वका रूपमा उदाए ।
बारघुटीलाई मैले पहिलोपटक सन् १९८० को दशकमा अहिंसात्मक अभियन्ता मुबारक अवादको घरमा भेटेको थिएँ । अहिंसात्मक अभियानको प्रभावकारिताप्रति बारघुटीको रुचिका कारण उनलाई भारतीय स्वतन्त्र संग्रामलाई अहिंसात्मक रूपमा अघि बढाएका गान्धीका सहयात्री खान अब्दुल गाफर खानको जीवनी पढ्न दिएको थिएँ ।
बारघुटीले त्यसवेला अब्दुल गाफलमा मात्र होइन प्यालेस्टिनी स्वतन्त्रतामा पाठ दिन सक्ने गान्धीदेखि मार्टिन लुथर किंग, जुनियरसम्मबारे जानकारी राख्न रुचि देखाएका थिए । त्यस अवधिको बारघुटीको बौद्धिक खोजले केही समयपछि सुरु भएको पहिलो प्यालेस्टिनी इन्तिफादा(आमविद्रोह)मा उनको नेतृत्वलाई आकार दियो । अहिंसात्मक विद्रोहको रूपमा सुरु भएको विशाल प्रदर्शनले इजरायली अतिक्रमणलाई हल्लाउने उद्देश्य राखेको थियो । तर, चार प्यालेस्टिनी श्रमिकको हत्या गरिएपछि प्रदर्शन हिंसात्मक बन्यो । बारघुटीको त्यस समयको लोकप्रियताबाट इजरायल सन्तुष्ट थिएन, जसले उनलाई अस्थिरता उत्पन्न गरेको आरोपमा पक्राउ गर्यो र जोर्डन निर्वासित गरिए ।
निर्वासनमा रहदाँ बारघुटीले फताहको संरचनामा कमजोरी देख्न थाले । प्यालस्टिनी जनता स्वतन्त्र राज्यका लागि तयार हुनका लागि फताह राजनीतिक दल बन्नुपर्ने उनको निष्कर्ष थियो । उनको यो साहसी विचार विवादमा आयो । ट्युनिसियामा अन्तर्वार्ताका क्रममा मैले फताहका संस्थापक तथा तत्कालीन पिएलओ नेता यासर अराफातसँग यस सम्भावनाबारे प्रश्न गरेको थिएँ । प्रश्न सुनेर अराफत रिसाए ।
प्यालेस्टिनीमाझ लोकप्रिय तथा सम्मान्नित मारवान बारघुटी चाँडै हमाससँगको युद्धविरामको हिस्साको रूपमा इजरायली जेलबाट मुक्त हुन सक्छन् । उनको विगतको रेकर्ड र कारागारभित्रबाटै उनले देखाएको नेतृत्व क्षमताले बारघुटी प्यालेस्टाइन र इजरायलबीचको समस्या समाधान गर्न सक्ने प्रमुख व्यक्तित्व हुन सक्छन् ।
फताहजस्तो स्वतन्त्र संग्राममा सरिक अभियानले दक्षिणपन्थी–वापमन्थी, धार्मिक–धर्मनिरपेक्षवादी प्यालेस्टिनी भूमिको स्वतन्त्रताको माग राखेका ‘सबै प्यालेस्टिनीलाई प्रतिनिधित्व’ गर्नुपर्ने उनले बताए । तर, राजनीतिक दल बनेपछि यसले हरेक मुद्दामा आफ्नो अडान पेस गर्नुपर्ने भएकाले विभाजन आउने उनले बताए । त्यति भनेर अराफतले अचानक अन्तर्वार्ता सकिएको बताए र मलाई स्तब्ध बनाइदिए ।
खासमा अराफतको आक्रोश मभन्दा पनि मसँग सम्पर्कमा रहेका बारघुटी तथा पश्चिमी किनाराका युवा प्यालेस्टिनी नेताप्रति लक्षित थियो । केही हदसम्म अराफत सही पनि थिए । आखिर, खण्डित फताहले एकीकृत हसमानविरुद्ध चुनाव प्रतिस्पर्धामा संघर्ष गर्नुपरेको छ । सन् १९९४ मा इजरायल र पिएलओबीचको ओस्लो सम्झौताअन्तर्गत बारघुटीलाई जोर्डनबाट स्वदेश फर्किन पाए । तथापि, बारघुटी यस सम्झौतालाई लिएर खुसी थिएनन् र सम्झौताप्रति इजरायलको प्रतिबद्धतामा उनलाई आशंका गरिएको थियो । र, उनको आशंकाअनुरूप नै शान्तिको बदलामा प्यालेस्टिनी जमिन फिर्ता गर्ने वाचा पूरा गर्नुको साटो सम्झौताले उग्र इजरायली नेताहरूलाई प्यालेस्टिनी भूमिमा चौगुणा यहुदी वृद्धि गर्ने स्थिति उत्पन्न ग¥यो ।
सन् १९९६ मा ‘प्यालेस्टिन अथोरिटी’अन्तर्गतको नयाँ संसद् (व्यवस्थापिका परिषद्)मा चुनिएपछि बारघुटीले स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना पक्षमा सक्रिय आवाज उठाउन सुरु गरे । इजरायली जेलमा रहँदा हिब्रु भाषा सिकेका बारघुटीले सो उद्दश्यका लागि इजरायली नेता तथा शान्ति अभियन्तासँग सम्बन्ध विकास गर्न थाले । (उनले अराफत प्रशासनमा बढ्दै गएको भ्रष्टाचार र उनको सुरक्षा सेवाको मानव अधिकार उल्लंघनविरुद्ध अभियान पनि चलाएका थिए ।) क्याम्प डेभिड सम्मेलन(सन् २००० )सम्म आइपुग्दा शान्ति प्रक्रियाप्रतिको उनको विश्वास तोडिइसकेको थियो । सन् २००२ सम्ममा उनले आफू युद्धविरोधी नभएको घोषणा गरे, तथापि उनले आफू आतकंवादी नभएको पनि स्पष्ट पारेका थिए ।
‘म र मेरो आबद्धता रहेको फताह अभियान इजरायलका आमनागरिकमाथि निशाना बनाउने कामको कठोर शब्दमा विरोध गर्छौँ,’ उनले सो वर्ष जनवरीमा लेखेका थिए,‘तथापि, मसँग आफ्नो आत्मरक्षा गर्ने, मेरो देशमाथिको इजरायली अतिक्रमणको प्रतिरोध गर्ने र मेरो स्वतन्त्रताका लागि लड्ने अधिकार छ ... इजरायललाई ध्वस्त बनाउनुको साटो म अझै पनि स्वतन्त्र र समान राष्ट्रको रूपमा इजरायल तथा प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्व चाहन्छु ।’
बारघुटीका यी अडानका बाबजुद विशेषतः हमासको नेतृत्वमा आमइजरायलीमाथि आत्मघाती आक्रमण बढिरहेको थियो । सन् २००२ मार्चमा इजरायलले प्रभावकारी रूपमा अराफत र प्यालेस्टाइनीसँग गरेको सुरक्षा सम्झौता तोड्यो । उसले ओस्लो सम्झौताअन्तर्गत त्यागेका सबै प्रमुख प्यालेस्टिनी नगरलाई पुनः कब्जामा लियो । लगत्तै इजरायली सुरक्षा बलले बारघुटीलाई हत्या आरोपमा पक्राउ गर्यो । उनले अदालतको सुनुवाइलाई अमान्य घोषित गर्दै आफ्नो पक्षबाट केही भनाइ राखेनन् । अदालतले उनलाई पाँच आजीवन कारावासबराबर सजाय सुनायो ।
कारागारमा रहँदा पनि बारघुटी फताहभित्र प्रभावकारी शक्ति रहँदै प्यालेस्टिनी स्वतन्त्रताको पक्षमा लागिरहेका छन् । सन् २००६ मा उनले इजरायली जेलमा रहेका अन्य फताह नेताहरूसँग मिलेर एक दस्तावेज तयार पारे जसमा उनले पिएलओका रणनीतिक कदमको रूपरेखा तयार पारे । त्यसमा सन् १९६७ मा इजरायली कब्जामा परेका भूमिमा सैन्य प्रतिरोध सीमित गर्नेदेखि एकता सरकार निर्माण गर्नेसम्मका विषय समावेश थिए । बारघुटी मनैले प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारमा विश्वास गर्छन् । यस उद्देश्यमा उनले ठूलो व्यक्तिगत त्याग गरिसकेका छन् । उनी धरातलीय यथार्थसँग राम्ररी जानकार छन् र इजरायलसँग शान्तिपूर्ण सहअस्तित्वमा बस्न नयाँ मार्ग पहिल्याउनुपर्नेमा विश्वास गर्छन् ।
बारघुटी विभाजित प्यालेस्टिनीहरूलाई इजरायलको छेउमा एक स्वतन्त्र प्यालेस्टिनी राज्य खडा गर्न अपूर्ण सम्झौता स्विकार्न तयार हुनुपर्छ भनेर सम्झाउन सक्ने एक मात्र नेता हुन सक्छन् । सन् १९९० को दशकमा ट्युनिसमा भएको हाम्रो भेटपछि बारघुटीसँग मैले कुराकानी गरेको छैन । तथापि, यसबीचका उनका सबै उतारचढावलाई पछ्याएको छु । यसबाट म के विश्वास गर्छु भने एकपटक कारागारबाट मुक्त भएपछि उनले मझधारको प्यालेस्टिनी देशभक्तको उनको भूमिका छिट्टै पुनरःहासिल गर्नेछन् र वास्तविक प्रगतिको मार्ग खुलाउनेछन् । इजरायली–प्यालेस्टिनी सम्बन्ध ऐतिहासिक ह्रास आएको अहिलेको समयमा न्यायपूर्ण शान्तितर्फ नेतृत्व गर्न सक्ने अरू कोही देखिँदैन ।
– प्रोजेक्ट सिन्डिकेटबाट