कतारमा रहेका नेपाली श्रमिकका समस्याबारे संसदमा आवाज उठाउँछु : सिके राउत

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
कतारमा रहेका नेपाली श्रमिकका समस्याबारे संसदमा आवाज उठाउँछु : सिके राउत

कतारमा नेपाली श्रमिक बस्दै आएका क्याम्प निरीक्षण गरी श्रमिक र संघसंस्थाका पदाधिकारीसँग अन्तर्क्रिया गर्दै जनमत पार्टीका डा .अध्यक्ष सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले खाडी मुलुक कतारमा रहेका नेपाली कामदारले भोग्दै आएका श्रमसँग सम्बन्धित समस्यालाई संसदमा उठाउने बताएका छन्। गैरआवासीय मधेशी संघ (एनआरएमए) ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कतार पुगेका डा. राउतले कतारमा कार्यरत नेपाली श्रमिक बस्दै आएको विभिन्न क्याम्पको अनुगमन निरीक्षण गरी समस्याको टिपोट पनि गरे।

कतारमा कार्यरत नेपाली श्रमिकको समस्या बुझ्न विभिन्न क्याम्प पुगेका राउतले नयाँ पत्रिकासँग भने, ‘श्रमिकको सबैभन्दा बढी चासो रोजगारको ग्यारेन्टी रह्यो।’ लाखौँ रुपैयाँ खर्च गरी कतार आएका, तर जागिर गुम्ने, राम्रो तलब नपाउने र कामको वातावारण राम्रो हुन नसकेको गुनासो कामदारबाट पाएको राउतले बताए। 

भ्रमणको क्रममा उनले कतारमा रहेका विभिन्न नेपाली संघसंगठनका पदाधिकारीसँग छलफल अन्तर्क्रिया गरेका छन्। काम नपाएर महिनौ रोजगारविहीन बस्नुपरेको, नेपाली दूतावासले पनि श्रमिकलाई सहज हुने गरी समन्वय गर्न नसकेको, ‘कोमा’मा परेकाको उपचार र मृतकको शव नेपाल पठाउन पर्याप्त काम गर्न नसकेको गुनासो आफूकहाँ आएको उनले बताए। 

श्रमिकले राखेको माग सम्बोधन हुने अपेक्षासहित आफूले संसदमा कुरा राख्ने डा. राउतले बताए। ‘उहाँहरूको समस्यालाई लिएर संसदमा कुरा राख्छु । सरकारलाई झकझकाउँछु,’ डा राउतले भने,‘श्रमिकको समस्यलाई समेट्दै सरकारलाई ज्ञापनपत्र बुझाउनेछौँ। श्रमिकको पक्षमा पार्टीले प्रतिबद्धता काम गर्छ।’

सुझावित समाचार