विगतको कष्टप्रद दैनिकी सम्झँदा विराटनगरकी नसिमा खातुनलाई अहिले पनि भाउन्न चल्छ । दुःखजिलो गर्दै परिवार चलाउन त्यसवेला गर्नुपरेका अनेकौँ कष्टले अहिले पनि उनलाई झस्काउँछ । तर, जब उनी आफैँ उद्यमशील बन्ने दिशामा उन्मुख बनिन्, त्यो यात्राले उनको जीवनरेखा बदल्दै लगेको छ । हिजोका अग्ला दुःखका टाकुरा आज क्रमशः होचिँदै गएका छन् । पारिवारिक र आर्थिक हैसियत उकालिँदै गएको छ । सामाजिक प्रतिष्ठा पनि बढेको छ ।
‘म र मेरो परिवारलाई आजको अवस्थामा पुर्याउने जीवन विकास लघुवित्त हो,’ कृतज्ञतासहितको स्वरमा उनले भनिन्, ‘जीवनमा उत्साहसाथ केही गर्नुपर्छ भन्ने आँट यही संस्थाले दियो । बलियो साथ र भरोसा दियो । त्यही आडले आज हाम्रो परिवारको अवस्था सहज बन्दै गएको छ ।’
०६४ मा जीवन विकासको सदस्य बनेकी नसिमाले पहिलोपटक आठ हजार रुपैयाँ ऋण लिइन् । विगत सम्झँदै नसिमाले भनिन्, ‘आठ हजार धेरै थियो मेरा लागि, नियमित तिर्ने किस्ता कहाँबाट ल्याउनु, तर आँट गरेँ, जे हुन्छ उपरवालाको कृपाले हुन्छ भन्दै लिएको ऋणबाट कवाडीको व्यापार सुरु गर्यौँ त्यसले पुँजी बढ्दै गयो ।’
भाडाको सानो एउटा कोठामा बसिरहेकी नसिमाले लघुवित्तको सहयोगमा आफ्नो घर बनाइन् । जेठो छोरो जाकिर अर्काको चप्पलजुत्ता पसलमा काम गर्थे । जीवन विकास लघुवित्तबाटै ऋण लिएर जुन पसलमा उनले पाँच वर्षसम्म काम गरेका थिए त्यो पसल किने । मासिक तीन हजार पाँच सयबाट पसलमा काम गरेका जाकिरले अहिले तीनजनालाई रोजगारी दिएका छन् । ‘मैले यही दोकानमा ५–६ वर्ष स्टाफको रूपमा काम गरेँ,’ विगत सम्झँदै जाकिर भन्छन्, ‘जीवन विकास लघुवित्तको सहयोगमा अहिले यसको मालिक छु, अरूलाई रोजगारी पनि दिएको छु ।’ विदेश जान ठिक्क परेको छोरालाई नेपालमै रोकेर व्यवसायी बनाएकी नसिमा खुसी छिन् । उनको परिवार खुसीसाथ बसेको छ ।
१८ वर्ष अरूको रिक्सा भाडामा चलाएका विराटनगर– १६ दरैयाका ह्याप्पीकुमार पासवानलाई पनि जीवन विकास लघुवित्तले सिटी सफारीको मालिक बनाएको छ । परिवारको आवश्यकता पूरा गरेर बचत पनि गरिरहेका छन् । छोरालाई इन्जिनियरिङ पनि पढाइरहेका छन् । ‘१६ वर्ष पाइडल रिक्सा भाडामा चलाएँ, त्यसपछि सिटी सफारी भाडामा चलाएँ,’ पासवान भन्छन्, ‘हिजो आफूसँग नहुँदा भाडामा चलाएँ, जीवन विकासले मलाई मालिक बनाइदियो ।’ भाडाको सफारी चलाउँदा कमाएको पैसा साहुलाई बुझाउनुपथ्र्यो, तर अहिले कमाएको पैसा सबै आफ्नै हुन्छ । नसिमा र ह्याप्पी मात्रै होइन, जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाखौँ परिवारको प्रगतिमा सहयोग गरेको छ ।
गाउँमा ‘ह्युमन एटिएम’
मोरङ ग्रामथान गाउँपालिका– १ रविहाटकी रेवता रानामगरलाई गाउँका मान्छेले एटिएम भन्छन् । उनी काम पनि एटिएमले जस्तै गर्छिन् । घरअगाडि आँगनमा अधिकृत टेलर सदस्य (एटिएम)को बोर्ड टाँगिएको छ । पैसा झिक्न र राख्नु परे छरछिमेकीहरू उनको घरमा आउँछन् । बिजुलीको बिल, मोबाइल रिचार्ज गर्नका लागि पनि उनलाई नै खोज्छन् । ‘म अहिले यहाँको एटिएम भएकी छु,’ रानामगर भन्छिन्, ‘एटिएमले जस्तै काम पनि गर्छु ।’
जीवन विकास लघुवित्तले ग्रामीण क्षेत्रमा रहेका विपन्न समुदायसम्म डिजिटल पहुँच पुर्याउन ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ । ह्युमन एटिएममार्फत जीवन विकासमा आबद्ध सदस्यले गाउँगाउँमा नगदरहित कारोबार गरिरहेका छन् ।
एटिएम सुरु भएपछि प्रविधिको प्रयोग गर्न पनि सदस्यले सिकेका छन् । नगदरहित कारोबार सुरु भएपछि लघुवित्तको केन्द्र बैठक पनि छिटो सकिन थालेको बिमलाले बताइन् । उनले भनिन्, ‘बचत र किस्ता सदस्यले अनलाइनबाटै तिर्छन्,आफ्नो पैसा झिक्न पनि मिल्छ ।’
नगदरहित कारोबारलाई प्रोत्साहित गर्न लघुवित्तले गाउँमा अधिकृत टेलर सदस्य (एटिएम) तोकेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताए । ‘नगद हुँदा जोखिम हुन्छ, त्यसैले नगदरहित कारोबारलाई लघुवित्तले प्रोत्साहित गरिरहेको छ,’ उनले भने, ‘नगदरहित कारोबार गर्नेको संख्या बढ्दो छ ।’ उनका अनुसार लघुवित्तले ‘एक टोल एक एटिएम’को नारासहित सेवा सञ्चालन गरिरहेको छ । ‘ह्युमन एटिएमको प्रयोगले समाजमा नगदरहित कारोबार प्रभावकारी भएको छ,’ उनले भने, ‘यसले नगदरहित केन्द्र बैठक सञ्चालनमा समेत सहयोग गरेको छ ।’ हाल एक हजारभन्दा बढी ह्युमन एटिएम एक लाख १२ हजारभन्दा बढी सदस्यले कारोबार गरिरहेका छन् ।
सुखदु:खमा ‘जीवन विकास’
केही दिनअघि ग्रामथान गाउँपालिका– २ खङ्गरिया झोडाकी यारुनाकुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तीय संस्था झोराहाट शाखाकी प्रमुख सिर्जना खवास कर्मचारीसहित झोला र दुईवटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स, साबुन, च्यावनप्राश र पाउडर राखिएको झोला उपहार दिइन् । ब्ल्यांकेट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन् । बोकेर लगेको आँप र लिचीको बिरुवा करेसाबारीमा रोपिदिइन् । यारुनालाई एक हजार रुपैयाँ दिएर फर्किइन् ।
जीवन विकास लघुवित्तको केन्द्र नम्बर ४६ की सदस्य सरदार सुत्केरी भएपछि उपहार र बिरुवा बोकेर शाखा प्रमुख खवास सरदारको घर पुगेकी थिइन् । संस्थामा आबद्ध सदस्यको घरमा जन्ममा खुसी र मृत्युमा समवेदना प्रकट गर्न उनी बिरुवा बोकेर पुग्छिन् । खवास मात्र होइन, जीवन विकास लघुवित्तको एक सय ६० शाखा कार्यालयका कर्मचारी सदस्यको सुखदुःखमा बिरुवा बोकेर घर–घर पुग्छन् । जन्मिएका र मृत्यु भएका व्यक्तिको नाममा फलफूलको बिरुवा रोपेर फर्कन्छन् ।
दुईवटा बच्चासम्म लघुवित्तले आफ्नो सदस्यलाई सुत्केरी सुविधा दिने गरेको छ । नर्मल डेलिभरी भएका सदस्यलाई एक हजार र अप्रेसन गरेकालाई दुई हजार दिन्छ । सदस्य र सदस्यको श्रीमान्को मृत्यु भए जीवन विकासले १० हजार रुपैयाँ काजकिरिया खर्च दिन्छ । मृतकको नाममा फलफूलको बिरुवा रोपिदिन्छन् ।
जन्म र मृत्यु भए सदस्यको घर पुगेर लघुवित्तले बिरुवा रोप्न थालेको तीन वर्ष भयो । सदस्यको सुखदुःखमा संस्था साथमा रहेको आभास दिलाउन यो अभियान सञ्चालन गरिएको लघुवित्तले जनाएको छ । सदस्यको घरमा रोपिएको बिरुवाले भोलि उत्पादन दिन्छ, बारीमै उत्पादन भए सिजनका फलफूल खान पाइने र बोटबिरुवाले वरिपरिको वातावरण स्वच्छ राख्नमा टेवा पुग्छ । यसरी रोपेको बिरुवाको संरक्षण पनि भएको छ । तीन वर्षमा संस्थाले तीन हजार तीन सय १६ सदस्यको घरमा पुगेर ६ हजार ६ सय ३२ वटा फलफूलको बिरुवा रोपिसकेको छ ।
नि:शुल्क ट्युसन सेन्टर
जीवन विकास लघुवित्त वित्तीय संस्थाले दुई हजार बालबालिकालाई नि:शुल्क ट्युसन पढाइरहेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत २४ जिल्लाका विभिन्न ७२ स्थानमा नि:शुल्क ट्युसन सेन्टर सञ्चालन गरिरहेको हो । ती सेन्टरमा एक–एकजना शिक्षकले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी विपन्न परिवारका बालबालिकाले पढ्न पाएका छन् ।
विपन्न समुदायका बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिको अभियानमा सहयोग गर्ने उद्देश्यले ट्युसन सेन्टर सञ्चालन गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मण्डलले बताए ।
‘सहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधासम्पन्न विद्यालय जान्छन्, बिहान–बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे–नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने, ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाबारे चासो लिएर गृहकार्य गराउने र बच्चाको सिकाइ कस्तो छ भनेर मापन गर्न पनि सक्दैनन् ।’
ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन लघुवित्तको ठूलो भूमिका छ : सञ्जयकुमार मण्डल प्रमुख कार्यकारी अधिकृत जीवन विकास लघुवित्त वित्तीय संस्था
०५४ मा स्थापना भएको जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरिबीरहित नेपालको परिकल्पनासहित वित्तीय, सामाजिक र डिजिटल सेवा प्रदान गरिरहेको छ । हाल नेपालका २४ जिल्लाका तीन लाख ४३ हजार विपन्न परिवार जीवन विकासमा आबद्ध भई सेवा लिइरहेका छन् । १० अर्ब निक्षेप संकलन गरेको लघुवित्तले २६ अर्ब कर्जा लगानी गरेको छ । वित्तीय संस्थाले सदस्यलाई वित्तीय सेवासँगै उद्यमशीलता र वित्तीय साक्षरता विकासका लागि अभियान सञ्चालन गरिरहेको छ । यो क्रम निरन्तर बढ्दो छ । लघुवित्तको सहयोगमा लाखौँ परिवारको जीवनस्तर उकासिएको छ ।
आर्थिक असमानतालाई न्यूनीकरण गर्दै सहरी क्षेत्र तथा सम्पन्न परिवारको मात्र पहुँच रहेका वित्तीय र अन्य सेवा लघुवित्तमार्फत ग्रामीण क्षेत्रका विपन्न परिवारले उपभोग गर्न पाएका छन् । स्थानीय स्तरमा आयआर्जन र उद्यमशीलता विकास गर्ने अवसर सिर्जना भएको छ ।
जीवन विकासले देशभित्र रहेको बेरोजगारी समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ स्वदेशमै रहेका तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी उद्यमशीलता विकासमा जोड दिएको छ । ग्रामीण तथा विपन्न परिवारको वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्दै डिजिटल बैंकिङ सेवाको विकास लागि नगदरहित कारोबार गर्न प्रोत्साहित गरेको छ । ग्रामीण क्षेत्रमा नै डिजिटल सेवा उपभोगको वातावरण सिर्जना गरेको छ ।
लघुवित्तको सेवालाई नागरिकको घरसम्म पुर्याउन लघुवित्तका कर्मचारीले अहोरात्र मिहिनेत गरिरहेका छन् । कर्मचारीको मिहिनेत प्रशंसनीय छ । तर, पछिल्लो समय गाउँ तहमा फैलिएको नकारात्मक प्रचारले लघुवित्तको सेवा प्रवाहमा चुनौती थपिएको छ ।
सदस्यको घरआँगनमा वित्तीय पहुँच पुर् याउन खटिएका कर्मचारीमाथि केही स्थानमा अवरोध भएका छन् । अहिले बजारमा फैलिएको नकारात्मक प्रभाव चिर्न र कर्मचारीको मनोबल बढाउन राज्यले तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता छ । नकारात्मक भ्रम फैलाउने जोकोहीलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्छ, होइन भने दण्डहीनता बढ्छ ।
अहिलेको असहज परिस्थितिमा सदस्यको आवश्यकताअनुसार किस्तामा सहजता गर्ने, बन्द भएका वा कमजोर अवस्थामा रहेका व्यवसाय पुनः सञ्चालन गर्न सहयोग गर्ने र नियमित वित्तीय सेवा प्रदान गरी ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मिहिनेत गरिरहेका छौँ ।