दाङमा सिकार खेल्न गएका एक युवककाे मृत्यु

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

दाङमा सिकार खेल्न गएको अवस्थामा बन्दुकले लागेर एक सिकारीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाका अनुसार शुक्रबार राति सिकार खेल्न शान्तिनगर १ स्थित वनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ वर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथमा ११/१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताए। ‘उनीहरूको साथमा ११/१२ जना गएको भन्ने बुझिएको,’ उनले भने, ‘आफैँ लागेको हो वा कसैले हानेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ।’

राति १ बजेतिर आफूहरू घटनास्थलमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारिएको र उनको साथबाट एउटा बन्दुक र त्यसका लागि चाहिने सामग्रीहरू फेला पारेको प्रहरी निरीक्षक थापाले बताए । साथै सँगै गएका केहीको पहिचान भइसकेकाले उनीहरूलाई खोजी गरी तत्काल पक्राउ गर्ने तयारी थालिएकोसमेत उनको भनाइ छ। खत्रीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ।

See More On

सुझावित समाचार