नवलपुरमा मृत बाघ भेटियो

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका– १० अरुणखोलानजिकै भूपू तमासपुर जाने बाटोनजिकै  वनमा भाले बाघ मृत फेला परेको हो।

घटनास्थलमा अहिले प्रहरी र डिभिजन वन कार्यालय कावासोती नवलपुरको टोली जाँदै गरेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको बताए। उनका अनुसार १०–१५ दिनअघि उक्त बाघ मरेको अनुमान गरिएको छ। बाघ सडेर गलिसकेको अवस्थामा फेला परेको उनले बताए।

सापकोटाका अनुसार उक्त बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहवरमा मुचुल्का तयार पारी घटनास्थल वरपर नै गाडेर छाडिनेछ।

स्थानीयले उक्त स्थानमा ८–१० दिनअघि नै उक्त बाघ देखे पनि सुतेर बसेको आशंका गरिएको थियो। अहिले जंगल जाँदा बाघ सडिसकेको अवस्थामा भेटेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए।

प्रहरी र वनका कर्मचारीले उक्त बाघ नरभक्षी भए–नभएको अहिले नै यकिन नभएको बताएका छन्। सो भाले बाघ १२–१५ वर्षको उमेरको रहेको अनुमान गरिएको छ।

बाघ भेटिएको क्षेत्र वरपर यसअघि बाघले मानिस र घरपालुवा जनवारलाई आक्रमण गरी खाने गरेको स्थानीयवासीको भनाइ छ।

सुझावित समाचार