कांग्रेस महासमिति बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक र राजनीतिक विषय समेटिएको ५६ पृष्ठको नीति प्रस्ताव पेस हुने भएको छ । नीति अधिवेशन गर्ने गरी कांग्रेसले ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ ।
बैठकको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक र राजनीतिक विषय समेटिएको नीति प्रस्ताव पेस हुने जानकारी दिए । प्रतिवेदन पार्टीका उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको नीतिगत प्रस्ताव समितिले तयार गरेको हो । प्रतिवेदन बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले पारित गर्न बाँकी छ । कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको संयोजकत्वमा तयार भएको सांगठनिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पेस हुने विश्वकर्माले बताए । बैठकले महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको नामसमेत अनुमोदन गर्नेछ ।
‘नीति अधिवेशनको रूपमा सम्पन्न हुने महासमितिको बैठकको तयारी अन्तिम चरणमा छ । बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पेजको नीति प्रस्ताव, महामन्त्रीहरूको सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत हुनेछ,’ उनले भने, ‘प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन हुनेछ र बैठकको एजेन्डा बन्नेछ ।’
सांगठनिक प्रतिवेदनको जिम्मा पाएका महामन्त्री थापा र समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका महामन्त्री शर्माले महाधिवेशनको सुनिश्चितता, निर्वाचनपूर्व गठबन्धन नगर्नेसहितका विषय समेटेर दस्ताबेज तयार गरेका छन् । बौद्धिक समूहसँग छलफल गरी बैठकमा जनसरोकार, राष्ट्रिय महत्वका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी प्रस्ताव लैजाने महामन्त्रीद्वयको तयारी छ ।
प्रचार विभागले महासमिति बैठकको नारासमेत सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ । बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर नीति प्रस्तावमा छलफल गरेको थिएन । महाधिवेशनबाट नेतृत्व चयन गर्ने र बाहेकका काम महासमिति बैठकले गर्न सक्ने विधानको व्यवस्थाअनुसार महासमितिबाटै छुट्टै नीति अधिवेशन गर्न लागिएको हो ।
कांग्रेसले महासमिति बैठकमा सहभागीहरूलाई स्वागत गर्न उपत्यकाका नाकाहरूमा स्वागतद्वार राख्ने भएको छ । बायाँ बिपी कोइराला र दायाँ सभापति शेरबहादुर देउवाको तस्बिर राखेर उपत्यकाका तीनसहित अन्य तीन जिल्लाका विभिन्न यस्ताद्वार तयार गरिने कांग्रेसले जनाएको छ । काठमाडाैँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु र चोभार, ललितपुरका बालकुमारी, सातदोबाटो, लुभु र गोदावरी, चापागाउँ र कुपन्डोल क्षेत्र, भक्तपुरका साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडीबुटी क्षेत्र, काभ्रेपलाञ्चोकका भकुन्डेबेँसी, धुलिखेल, बनेपा, धादिङका गजुरी र नौबिसे तथा नुवाकोटका ककनी र जरसिङपौवामा स्वागतद्वार रहने कांग्रेसले जनाएको छ ।
उपत्यकाको सडकको दायाँबायाँ, रिङरोड र सातदोबाटोदेखि गोदावरीसम्म मूल सडकका किनाराका पोलमा फ्लेक्स पोस्टर र तीन हजार स्टिकर राखिने भएको छ । महासमिति बैठकका गतिविधिबारे जानकारी दिन सूचना केन्द्र स्थापना गरिने कांग्रेसले जनाएको छ ।