हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना निर्माण कार्य ८५ प्रतिशत पूरा भएको छ। सुरुङ, बाँध, पाइपलाइन र पावरहाउसको काम लगभग ८५ प्रतिशत सम्पन्न भएको हो।
निर्माण सुरु भएको दुई वर्ष नपुग्दै काम सकिन लागेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए। ‘निर्माण सुरु गरेको २५ महिनाभित्र ०८१ जेठमा उत्पादन सुरु गर्ने हाम्रो लक्ष्य छ,’ चौधरीले भने, ‘भोटेकोशीवासीले हरदम साथ दिएकाले आयोजनाको काम चाँडो भएको हो।’
०८१ जेठ १२ गतेदेखि लिपिङ खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने घोषणा गरेको छ। प्रसारणलाइनको काम नयाँ वर्षको वैशाखभित्र सक्ने तयारी छ।
नयाँ सालको सुरुवाती महिनामै सिन्धुपाल्चोकबाट १६.२६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिँदै छ। हिउँदमा विद्युत् उत्पादन ३० प्रतिशतसम्म घट्न सक्छ।
लिपिङ खोलाले उत्पादन गरेको विद्युत् सिन्धुपाल्चोकको सबैभन्दा ठूलो आयोजना मध्यभोटेकोशी (१०२ मेगावाट)को प्रसारणलाइनमा जोडिएर बाह्रबिसे सबस्टेसनमा जम्मा हुन्छ। हालसम्म सबैभन्दा चाँडो सम्पन्न हुन लागेको यो आयोजनाको कुल लगानी तीन अर्ब ४० करोड रहनेछ।
निर्देशक चौधरीका अनुसार लगानीको २० प्रतिशत अर्थात् २६ करोड ६० लाखको आइपिओ वैशाखमा जारी गर्ने तयारी छ। १० प्रतिशत प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका र १० प्रतिशत सर्वसाधारणका लागि हो।
८० प्रतिशत लगानी सञ्चालकहरूको आफ्नै हो। केसी नीता जेभीले निर्माण गरेको यो आयोजनामा चीनको सीमा क्षेत्र लिपिङ र रंगबुसा गाउँका ९० प्रतिशत स्थानीय काममा संलग्न छन्।
कमजोर भूगोल र जंगलको रक्षाका लागि सडक निर्माण नगरी रोपवेबाट सामग्री ढुवानी गरिएको हो। एक हजार चार सय ५० मिटर सुरुङ खनेर चट्टाने भिरमा बलियो पाइपलाइन बिच्छाएर पानीको प्रवाह गरिएको छ।
पानीको स्रोत सानै भए पनि पावरहाउसमा चाप प्रवाह गर्ने हेडस्थलको दूरी पर्याप्त भएकाले १६.२६ मेगावाट विद्युत् उत्पादन सम्भव भएको हो।
भूगोलको दुरवस्थाले सडकको ट्रयाक नबनाएको चौधरीले बताए। एक्स्काभेटर, जेसिभी, ट्याक्टर र अन्य मेसिन हेलिकाेप्टरबाट लगिएको थियो।