जिंक गहुँ–१ को उत्पादन र प्रवर्द्धन गर्न नार्क र बिग एग्रो ग्रुपबिच सम्झौता

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूको वर्षौंको अथक मेहनतपछि विकास गरिएको पोषणयुक्त ‘जिंक गहुँ–१’ उपभोक्ताको थालीसम्म पुग्ने निश्चित भएको छ। ‘अनुसन्धानदेखि उपभोक्तासम्म’को यो ऐतिहासिक उपलब्धिलाई मूर्तरूप दिन नार्क र निजी क्षेत्रको कम्पनी ‘बिग एग्रो ग्रुप लिमिटेड’बिच सम्झौता भएको हो।

यस सम्झौताले कृषकलाई उच्च उत्पादन र बजारको सुनिश्चितता दिँदै उपभोक्तालाई सुलभ मूल्यमा स्वास्थ्यवर्धक ‘राज चक्की आटा’ उपलब्ध गराउने बाटो खोलेको कम्पनीले जनाएको छ।

नेपालको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम र मेक्सिकोस्थित अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र (सिमिट)को संयुक्त प्रयासमा ‘बायोफोर्टिफाइड’ प्रविधिमार्फत यस गहुँको विकास गरिएको हो। यो सामान्य गहुँभन्दा उत्पादन र पोषण दुवै हिसाबले कैयौँ गुणा उत्कृष्ट मानिएको छ।

विशेषगरी तराई, भित्री मधेश र समुद्र सतहदेखि ८०० मिटरसम्मको उचाइमा यसको व्यावसायिक खेती गर्न सकिन्छ। सरदर ९५ देखि १०० सेन्टिमिटरसम्म अग्लो हुन्छ।

हाल नेपालमा गहुँको राष्ट्रिय औसत उत्पादन प्रतिहेक्टर करिब ३ टन मात्र छ। तर, जिंक गहुँ–१ ले प्रतिहेक्टर ५.०१ टनसम्म उत्पादन दिने कम्पनीको दाबी छ। बिउ छरेको करिब १२१ दिनमा पाक्ने यस गहुँको प्रति बालामा ४७ देखि ५१ वटासम्म दाना लाग्ने र एक हजार दानाको तौल ४५ देखि ५५ ग्रामसम्म हुने बताइएको छ।

यसमा खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवा (स्पट ब्लोच)जस्ता घातक रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता छ। यसको अर्थ किसानले विषादीमा खर्च गर्नुपर्ने रकम जोगिन्छ र उत्पादन स्वतः अर्ग्यानिकउन्मुख हुन्छ।

सुझावित समाचार