कप्तान रोहित चम्किँदा क्यानडाविरुद्ध नेपालको विजयी सुरुवात

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
कप्तान रोहित चम्किँदा क्यानडाविरुद्ध नेपालको विजयी सुरुवात

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

कप्तान रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र कुशल भुर्तेल चम्किएपछि नेपालले क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल सात रनले जितेको छ ।

पहिलो एकदिवसीय खेलमा सुरुवाती ब्याटिङ गरेको नेपालले दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई सय १७ रन बनाएको हो । कप्तान रोहितले चार विकेट लिँदै नेपालको जित सुनिश्चित गरेका थिए । 

क्यानडाको इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाए । मध्यक्रममा रहेको पर्गत सिंह र निकोलास किर्टनले अर्धशतक बनाएपछि क्यानडा बलियो बनेको थियो । तर, अन्य ब्याटर चल्न सकेनन् । 

किर्टनले ९९ बलमा सात चौकासहित सर्वाधिक ६८ रन बनाएका हुन् । उनलाई कुशल मल्लले बोल्ड गरेका थिए । पवन सर्राफले ९९ बलमा नाै चौकासहित ५० रन बनाएका पर्गतलाई बोल्ड गरेका थिए । यसपछि खेल नेपालको पक्षमा आएको थियो । तेस्रो विकेटका लागि दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । 

यसअघि ओपनर आरोन जनसनले २० र नभनित धालिवालले ६ रन बनाए । एक रन बनाएका श्रेयस मोभा र ६ रन बनाएका उदय भगवानलाई कप्तान रोहितले आउट गरेपछि खेल नेपालको पक्षमा आएको थियो । कप्तान सान विन जफरलाई ललित राजवंशीले एलविबिडब्लु धरापमा पार्दा समर्थकले चर्को हुटिङ गरेका थिए । तीन बलमा दुई रन बनाएका डिलोन हेलिगरलाई पवनले एलबिडब्लू आउट गरेका थिए । 

कप्तान रोहितले सर्वाधिक चार विकेट लिए । स्पिनरबाट विकेट नझर्दा पार्टटाइम बलर रोहित आफैँ भूमिकामा देखिए । उनले ८.५ ओभरमा दुई मेडनसहित जम्मा २२ रन खर्चिएका थिए । ललितले दुई तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय २४ रन बनाएको हो ।  नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । क्यानडाका उदय भगवानले सर्वाधिक तीन विकेट लिएका हुन् । 

ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए पनि अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । 

ओपनर कुशल भुर्तेल ५८ बलमा नाै चौका र एक छक्कासँगै ६२ रन बनाएका थिए । नेपालले १८.३ ओभरमा ९९ रन बनाउँदा कुशललाई साद विन जाफरले विकेटकिपर मुभबाट स्टम्पिङ गरेका हुन् । यसअघि कुशलले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन बनाएका थिए । कुशलको एकदिवसीय ४७ खेलमा बनाएको यो सातौँ अर्धशतक हो । 

यसअघि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेल समान आठ रन बनाएर आउट भए । चौथो नम्बर क्रिजमा आएका भीम सार्की २६ बलमा दुई चौकासहित १७ रन बनाएर आउट भएका हुन् । 

मध्यक्रमका कुशल मल्लले ३२ बलमा २० रन, आरिफ शेखले ५० बलमा चार चौकासहित ३८, पवन सर्राफले १५ रन बनाएर नेपालको इनिङ्स उकासेका थिए । सोमपाल कामी २७ रन बनाएर आउट भएका हुन् । 

क्यानडाका साद विनले दुई विकेट लिएका थिए । ईश्वरजोत सोही, साहिद अहमानजाई र हर्ष थाकेरले समान एक विकेट लिए । 

यो खेलसँगै बलरद्वय सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका छन् । पवन सर्राफले कमब्याक गरेका छन् ।

खेलका क्रममा सन्दीप लामिछाने समर्थक र प्रहरीबीच झडप भएको थियो । बलात्कार आरोपमा दोषी ठहरिएका सन्दीपको नाममा नाराबाजीसहित ब्यानरमा देखिएका समर्थकलाई पुलिसले हटाउन खोजेपछि घम्साम्घम्सी चलेको हो ।  

नेपाल र क्यानडाबीच तीन खेलको शृंखला हुनेछ । दोस्रो खेल शनिबार हुनेछ । यसपछि दुवै टोली आइसिसी क्रिकेट विश्वकप लिग– २ को खेलमा व्यस्त हुनेछन् ।

सुझावित समाचार