लगातार विकेट गुमेपछि नेपाल दबाबमा, ६२ रन बनाएर कुशल आउट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
लगातार विकेट गुमेपछि नेपाल दबाबमा, ६२ रन बनाएर कुशल आउट

नेपाली ब्याटरको विकेट लिएपछि खुसी मनाउँदै क्यानडाका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पछिल्ला ओभरमा लगातार विकेट गुमाएको छ । पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको नेपालले त्यसपछि ५० रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । 

१८.३ ओभरमा ९८ रनको अवस्थामा नेपालले कुशल भुर्तेललाई तेस्रो विकेटका रूपमा गुमाएको हो । जबर्जस्त ब्याटिङ गरिरहेका कुशल ५८ बलमा एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन बनाएर आउट भए । साद विन जाफरले उनको विकेट लिए । 

त्यसअघि नेपालले अर्का ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई समान आठ रनको अवस्थामा गुमाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित १७ बल मात्र खेलेर पेभेलियन फर्किए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर ७१ रन थियो । त्यसअघि दसौँ ओभरको पहिलो बलमा ४८ रनको अवस्थामा आसिफ शेख आउट भएका थिए । 

कुशलले आक्रामक क्रिकेट खेलिरहेका वेला अर्को इन्डबाट सम्हालिएर खेलेका आसिफ २४ बलमा आठ रनको अवस्थामा ठूलो सट खेल्न खोज्न क्याचआउट हुन पुगे । उनलाई क्यानडाका उदय भगवानले आउट गरे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट  मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेपछि राम्रो सुरुवात गरेको थियो । तर, पछिल्लो ओभर लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल केही दबाबमा परेको छ । अहिले क्रिजमा भीम सार्की र आक्रामक ब्याटर कुशल मल्ल छन् । भीमले २० बलमा १७ रन बनाइसकेका छन् । ताजा अवस्थामा नेपालले २१ ओभरको खेल सकिँदा एक सय ६ रन बनाएको छ । 

सुझावित समाचार