भुक्तानीमा ढिलाइ भएपछि ब्रोकरविरुद्ध उजुरीको चाङ

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

सेयर बिक्री गरेको रकम दुई हप्तासम्म पनि खातामा जम्मा नभएपछि  ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले गरेको उजुरीको चाङ लागेको छ । कारोबार भएको दुई दिनभित्र बिक्रीकर्ताको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था भए पनि दुई हप्तासम्म पनि भुक्तानी नपाएको भन्दै लगानीकर्ताले बोर्डमा उजुरी गरेका हुन् । 

 एक सातामा बोर्डमा लगानीकर्ताबाट आउने उजुरी उच्चदरमा बढेको बोर्डको उजुरी शाखामा आएको निमित्त कार्यकारी निर्देशक नवराज अधिकारीले बताए । उनले भने, ‘पछिल्लो एक सातादेखि उजुरी धेरै आएका छन, कतिको संख्याको आएको भन्ने ठ्याक्कै थाहा भएन । तर, धेरै गुनासो आएको पाएको छु ।’ उजुरीको संख्या बढेपछि ब्रोकरका प्रतिनिधिहरूलाई फोन गरेर भुक्तानीको समस्याबारेमा जानकारी लिएको उनको भनाइ छ । 

उनले भने, ‘समस्या समाधान तुरुन्त नभए म कारबाहीको प्रक्रिया अघि बढाउँछु भनेको छु ।’ भुक्तानी समस्याको विषयमा तत्काल अनुसन्धान अघि बढाउने पनि उनले बताए । ‘अहिले धितोपत्र बोर्ड अध्यक्षविहीन छ । केही ब्रोकरले यसको फाइदा उठाउन लगानीकर्ताको पैसा भुक्तानीमा ढिलाइ गरेको हुन पनि सक्छ,’ उनले भने, ‘तर, हामी त्यस्तो हुन दिदैनौँ । तत्काल यसबारे आवश्यक अनुसन्धान अघि बढाउँछौँ ।’

बोर्ड अध्यक्षविहीन भएको अवसर पारेर केही ब्रोकरले फाइदा लिन खाजेको लगानीकर्ता संघका एक सदस्यले बताए । उनले भने, ‘अहिले बोर्डमा अध्यक्ष पनि नहुनु र एकाएक ब्रोकरको भुक्तानीमा समस्या आउनु संयोग त पक्कै नहोला, नभए पुसमा पनि भुक्तानीको समस्या आउथ्यो होला ।’ अहिले धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको छ ।

अन्य पदाधिकारीसँग ब्रोकरले लगानीकर्ताहरूलाई भुक्तानी नै नगरे पनि कारबाही गर्र्ने अधिकार नभएको उनको भनाइ छ । तर, पछिल्लो समय हिमालयन रिन्स्योरेन्सको सेयर ठूलो परिणामा खरिद बिक्री हुँदा सिस्टमा आएको समस्याले केही ढिलाइ भएको न्यु स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । उनले भने, ‘धेरै लगानीकर्ताको सेयर भएको हुँदा अधिकांशले सेयर बिक्री गरे । त्यस कारणले पनि ब्रोकरलाई भुक्तानीमा ढिलाइ भएको हो, तर अहिले समस्या समाधान भइसक्यो ।’

पछिल्लो समय बजारमा औसत तीन अर्बको मात्र कारोबार हुँदै आएको छ । पुस मसान्तसम्म औसत एक अर्ब कारोबार हुँदै आएको थियो । सेयर बजार करिब २२ सयको विन्दुसम्म पुगेर फर्किँदा नौ अर्बसम्मको कारोबार भएको थियो । एक ब्रोकरले भने, ‘थोरै कारोबार हुँदा समस्या थिएन बजार पनि बढ्यो कारोबार पनि बढ्दा एकैपटक सेटल गर्दा सुरुमा समस्या भएको हो । तर,अहिले छैन ।’

अनलाइन प्रणालीबाट सेयर विक्री गरेको रकम भुक्तानी नभएको कारणले समयमै रकम जम्मा हुन नसकेको एक ब्रोकरले बताए । तर, अहिले यस्तो समस्या नभएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । उनले भने, ‘अहिले केही समस्या भएको छैन, त्यत्तिकै केही व्यक्तिले सामाजिक सञ्जालमा अहवाफ फैलाइएको छ,’ उनले भने, ‘माघको पहिलो हप्ता टिएमएस मर्मत–सम्भार र अनलाइन भुक्तानी नहुँदा केही दिन समस्या भएको हो, त्यो समाधान भइसक्यो, तर अहिले कतै समस्या नै छैन ।’  उनका अनुसार लामो समयसम्म खाता अपडेट नभएको अवस्थामा रकम रोक्का हुने र जानकारी गराएपछि समाधान हुने गरेको छ । 

तत्काल अनुसन्धान अगाडि बढाउँछौँ 
नवराज अधिकारी, कार्यकारी निर्देशक, धितोपत्र बोर्ड 

पछिल्लो एक सातादेखि उजुरी धेरै आएका छन्, कतिको संख्याको आएको भन्ने ठ्याक्कै थाहा भएन । तर, धेरै गुनासो आएको पाएको छु । अहिले धितोपत्र बोर्ड अध्यक्षविहीन छ । केही ब्रोकरले यसको फाइदा उठाउन लगानीकर्ताको पैसा भुक्तानीमा ढिलाइ गरेको हुन पनि सक्छ । तर, हामी त्यस्तो हुन दिँदैनौँ । तत्काल यसबारे आवश्यक अनुसन्धान अघि बढाउँछौँ ।

सुझावित समाचार