अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
केही महिना पहिले हङकङबाट काठमाडौं ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन्। सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन्।
उनले भने, ‘नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) काठमाडौंले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो।’
अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान निष्कर्ष छ। काठमाडौंको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ।