संसद् अब क्यालेन्डरमा

प्रतिनिधिसभाको तीन हप्ताको कार्यतालिका, राष्ट्रिय सभाको फागुन मसान्तसम्मकै सेड्युल

शनिबार, २० माघ, २०८०
डिजिटल संस्करण
संसद् अब क्यालेन्डरमा

संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे  राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग शुक्रबार छलफल गर्दै

संघीय संसद्को हिउँदे अधिवेशन क्यालेन्डरमा सञ्चालन हुने भएको छ । विधेयक अधिवेशनका रूपमा रहेको यो अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिमूलक बनाउन संसद् र सरकार क्यालेन्डर लागू गर्न तयार भएका छन् । 

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाले प्रारम्भमा तीन हप्ताको क्यालेन्डर बनाएर कार्यान्वयनमा लैजानेछ भने राष्ट्रिय सभाले शुक्रबार फागुन मसान्त अर्थात् पाँच महिनाको क्यालेन्डर कार्यव्यवस्था तथा परामर्श समितिबाट स्वीकृत गरिसकेको छ । प्रतिनिधिसभातर्फ सचिवालयले प्रस्तुत गरेको क्यालेन्डरमा सभामुख देवराज घिमिरेले शुक्रबार साँझ दलका प्रमुख सचेतकबाट सुझाव लिएका छन् । सुझावका आधारमा प्रस्तावित क्यालेन्डर संशोधन गरेर माघ अन्तिम साता, फागुन पहिलो र दोस्रो साता गरेर तीन हप्ताको क्यालेन्डर कार्यान्वयनमा आउने संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

सुझाव समेटेर संसद् सचिवालयले क्यालेन्डर तयार पारेपछि कार्यव्यवस्था तथा परामर्श समितिले स्वीकृत गर्नेछ । पाण्डेयका अनुसार दलहरू हप्तामा तीन दिन सदन र तीन दिन संसदीय समिति चलाउन सहमत भएका छन् । यसैगरी, संसदीय प्रक्रियामा रहेका विधेयकलाई पनि क्यालेन्डरमा राख्न सरकार र संसद्मा प्रतिनिधित्व गर्नेहरू तयार भएका छन् । तीन हप्ताको क्यालेन्डर कार्यान्वयनमा लगिसकेपछि प्रि–बजेट छलफलका लागि अर्काे क्यालेन्डर बनाउने समझदारी दलहरूबीच बनेको छ । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब संसद् क्यालेन्डरसहित अघि बढ्ने र यसले संसदीय गतिविधि नियमित हुने बताए । सचेतकहरूसँगको बैठकमा विद्युतीय हाजिरीलाई अनिवार्य कार्यान्वयन गरेर जाने निर्णय पनि भएको छ । हाल विद्युतीय र रजिस्ट्रर गरेर दुवै हाजिरीको विकल्प सांसदलाई थियो । 

संघीय संसद् अधिवेशन २२ गते अपराह्न ४ बजे बोलाइएकाले शीर्ष नेता अर्काे बैठकमा बोल्ने तय पनि बैठकले गरेको छ । यसका लागि २४ गते बैठक राख्ने समझदारी छ । बैठकमा सभामुख घिमिरेले संसदीय मैत्री समूह गठनका नाम दिन दलहरूको ध्यानाकर्षण गराएका थिए । विभिन्न देशसँग मैत्री समूह स्थापित गर्न नाम माग गरेकोमा कांग्रेस, एमाले र माओवादीले सांसदको नाम दिएका छैनन् । 

राष्ट्रिय सभाको क्यालेन्डर स्वीकृत 
संघीय संसद्को २२ माघबाट सुरु हुने हिउँदे अधिवेशनका लागि राष्ट्रिय सभाले क्यालेन्डर स्वीकृत गरेको छ । राष्ट्रिय सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी अधिवेशनको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत गरेको हो ।

बैठकले संसद्को अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनबारे संसद्लाई पूर्वजानकारी गराउनुपर्ने निर्णयसमेत गरेको छ । यसले कार्यतालिका बनाउन सहज हुने विश्वास लिइएको छ । संसद्को आउने अधिवेशनमा सरकारले कतिवटा, के–कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ । 

यसैगरी राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने विषय टुंग्याउन सरकारलाई आग्रह गरिएको राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 
 

See More On

सुझावित समाचार