संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्दै

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

२२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संसदीय दलको बैठक बस्दै छ । संसद्लाई प्रभावकारी बनाउने, जनजीविकाका सवाल र कानुन निर्माण केन्द्रित गराउने रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्न लागेको हो । 

रास्वपा संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आगामी अधिवेशनमा उठाउनुपर्ने मुद्दाको तयारीका लागि बैठक बस्न लागेको सचेतक निशा डाँगीले बताइन् । 

यसैगरी, कांग्रेस संसदीय दलको बैठक संसद् भवनको लोत्से हलमा दिउँसो २ बजे बस्दै छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिपूर्ण बनाउने उद्देश्यसहित बैठक बस्दै छ । 

यसैगरी, प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो १२ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार दुई दिनसम्म चल्ने बैठकमा जनजीविकाका सवाल, प्रतिपक्षी बेन्चको प्रभावकारिता र सिंगो संसद्कै प्रभावकारिताका सवालमा बृहत् छलफल हुनेछ । 

विधेयक अधिवेशनमा आफ्नो बलियो भूमिका प्रस्तुत गर्न अन्य दलहरू पनि तयारीमा जुटेका छन् ।

सुझावित समाचार