पश्चिम नेपालमा वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पश्चिमदेखि पूर्व लाग्ने क्रममा बुधबार राति र बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
पश्चिमदेखि मध्यनेपालसम्मका पहाडी क्षेत्रका केही ठाउँ तथा पश्चिम तराईका कैलाली र कञ्चनपुरमा वर्षा भएको छ । लामो समयदेखिको खडेरीपछि वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै किसान खुसी भएका छन् । सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा भने राम्रो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । पश्चिमी वायुका कारण देशभर बदली भए पनि पश्चिम नेपालमा वर्षा र हिमपात भयो । बिहीबार डडेल्धुरा क्षेत्रमा ३२ मिलिमिटरसम्म पानी परेको छ । दिपायलमा २३.२, धनगढीमा १४.२, सुर्खेतमा ७.३, नेपालगन्जमा १, जुम्लामा ०.५ र भैरहवामा ०.४ मिलिमिटर पानी परेको छ ।
काठमाडौंमा पनि लामो समयपछि बिहीबार साँझ फाटफुट वर्षा भएको छ । ‘यसपटक हिउँदभर काठमाडौं सुक्खा रह्यो, बिहीबार पनि खासै पानी परेन,’ गोविन्द झाले भने, ‘तत्काल वर्षाको सम्भावना पनि छैन ।’ १ मिलिमिटरभन्दा कम वर्षालाई फाटफुट भनिन्छ । पछिल्लोपटक काठमाडौंमा २५ जनवरीमा फाटफुट पानी परेको थियो । डिसेम्बर पूरै महिना सुक्खा रह्यो भने नोभेम्बर १२ मा वर्षा रेकर्ड भएको छ । अक्टोबर १७ मा भने ८.२ मिलिमिटर पानी परेको थियो । हिउँदमा पानी पर्दा कृषि बाली सप्रिन्छ भने वायु प्रदूषण घटाउँछ ।
कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा भएको छ । यस क्षेत्रमा हिमपात भएको हिउँदे सिजनको यो दोस्रोपटक हो । मंसिरमा पनि हिमपात भएको थियो । पर्यटकीयस्थल रारा ताल क्षेत्रमा हिउँ परेको छ । मुगुमा कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटनहरू, कोइकी हिमाल, मुगुगाउँ, डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग दाउरा, रिउस पापु, छाइल, पुव, मह, मांग्रीलगायत दर्जनभन्दा बढी गाउँबस्तीमा हिमपात भएको छ ।
छायानाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीको लेक, भुलभुले, पिना, झ्यारी, टोप्ला, मुर्मालगायत दर्जनौँ गाउँबस्तीमा हिउँ परेको छ । माघ तेस्रो सातामा भए पनि हिमपात भएपछि हिउँदे बाली गहुँ, जौ, उवा, स्याउ, आरु, ओखरलगायत फलफूल र अन्नबाली राम्रो हुने आशामा कृषक खुसी भएका छन् ।
हिमपातका कारण बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडकमा बाक्लो हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा जाने यातायातका सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका– ६ का नीरज घर्तीमगरले जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोला क्षेत्रमा रोकिएका हुन् । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात रोकिएमा हिउँ हटाएर सडक खुलाइने बताए । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पनि हिमपात भएको छ ।
आज कोशीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
महाशाखाले शुक्रबार कोशीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । गण्डकी र कोशीका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुन सक्ने अनुमान छ । ‘बिहीबारको जस्तो देशभर बदली हुने सम्भावना छैन, तत्काल तराईमा पानी पर्ने छाँट पनि छैन,’ मौसमविद् झाले भने ।
हिउँले ढपक्क ढाकियो पर्यटकीय क्षेत्र खप्तड
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । दुई फिटसम्म हिउँ जमेपछि खप्तडका डाँडा सेताम्य बनेका छन् । बिहीबार बिहानबाट खप्तडको प्रवेशद्वार मानिने डोटीको झिग्राना, बगलेकसम्म हिउँ परेको झिग्रानामा होटेल सञ्चालन गर्दै आएका व्यवसायी दीपक खड्काले बताए ।
डोटी, बाजुरा, बझाङ, बैतडी, अछाम, डडेल्धुरा र दार्चुलका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार रातिबाट हिमपात भइरहेको छ । बैतडीको खोड्पे, सिगास, अनारखोली, सतबाँझ क्षेत्रमा हिमपात भएको छ । त्यस्तै, बाजुराको बिच्छ्या, कोल्टी, ढम्कने, पोखरेलेकलगायत लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानसिंह भण्डारीले बताए ।