आकलनभन्दा कमजोर देखियो ‘पश्चिमी वायु’, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण
आकलनभन्दा कमजोर देखियो ‘पश्चिमी वायु’, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने

फइल तस्बिर

पश्चिमी वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाले आकलन गरेभन्दा कमजोर देखिएको छ। 

महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन’ जारी गरेर बुधबार अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको आकलन गरेको थियो। 

साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भूभाग तथा बागमती र कोशीका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना भनेको थियो। 

बुधबार साँझसम्मको अवस्था हेर्दा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएको छ। मौसमविद् मीनकुमार अर्यालले बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर गण्डकी प्रदेशसम्म मात्र पर्ने देखिएको बताए। 

‘रातिसम्म पश्चिमी वायु फैलिएर सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना देखिएको छ। क्षेत्रगत रूपमा धेरै ठाउँमा हुन सक्छ। सुदूरपश्चिमदेखि गण्डकीसम्मका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ,’ अर्यालले भने, ‘तर त्यहाँदेखि पूर्वतिर खासै असर गर्ने देखिँदैन।’ 

उनका अनुसार मध्य र पूर्वी नेपालमा बदलीसँगै केही ठाउँमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ। तर, पश्चिम पहाडी क्षेत्रमा जस्तो असर देखिने अवस्था छैन। काठमाडौं उपत्यकामा बदली रहे पनि ठूलो वर्षाको सम्भावना छैन। बिहीबार हल्का वर्षासम्म हुन सक्छ। 
तराईमा भने बदली भए पनि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल पनि यो वर्ष हिउँदे वर्षाको पूर्वानुमान गर्न पनि गाह्रो भएको बताउँछन्।

‘केही दिनअगाडिको पूर्वानुमानमा काठमाडौंमा हल्का वर्षा हुने राम्रो सम्भावना थियो। तर, अहिले हेर्दा पश्चिम नेपालतिर मात्र वर्षा हुने देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। प्रशान्त महासागरमा विकसित भएको प्रणाली लालिनाका कारण यो वर्ष हिउँदे वर्षा प्रभावित भएको हो।  
 

See More On

सुझावित समाचार