अवार्ड विजेतालाई सात लाखबराबरको बिमा

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

२०औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको विजेताहरूले बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबाट सात लाख रुपैयाँबराबरको खेलकुद बिमा पोलिसी पाउने भएका छन् ।

२८ माघमा होटेल याक एन्ड यतीमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने नौमध्ये एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाहेक आठ विधाका विजेतालाई युनाइटेड अजोडले एक वर्षका लागि सो पोलिसी प्रदान गर्ने भएको हो । युनाइटेड अजोड पल्सर स्पोर्टस् अवार्डको यस वर्षको इन्स्योरेन्स पार्टनरको रूपमा पनि आबद्ध भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा सम्झौता भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि सिइओ रावलले नेपालमा भर्खरै सुरु भएको खेलकुद बिमा पोलिसीलाई संस्थागत गर्न यस सहकार्यले सहयोग पुग्ने बताए । मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित बिमा कम्पनीसँग सर्वोत्कृष्ट खेलकुद अवार्ड कार्यक्रममा जोडिन पाउँदा खेलाडीहरू थप लाभान्वित हुने जनाए । 

अवार्डअन्तर्गत ०७९ वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । त्यसबाहेक पाराएथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट विधाको घोषणा कार्यक्रमकै दिन घोषणा हुनेछ । 

सुझावित समाचार