मन्त्री साउद र नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार भेटवार्ता भएको हो।

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्याएका योगदानको चर्चा गरेका थिए।

सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेबापत नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो।

लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ शिखर सम्मेलन आयोजना गर्दै छ। लुम्बिनी सरकारले आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो।

उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

‘लरेट्स एन्ड लिडर्स’ शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।

सुझावित समाचार