चिनियाँ प्रतिनिधिमण्डलको उच्चस्तरीय राजनीतिक भेटवार्ता

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन हैयान । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा शनिबार प्रधानमन्त्रीसहित एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेको छ । भेटमा नेताहरूले नेपाल–चीन सम्बन्ध र विगतका सहमति कार्यान्वयनमा जोड दिए ।

नेपाल भ्रमणमा शुक्रबार आएको चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको छ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेको हो । 

भेटमा शीर्ष नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हैयानले राष्ट्रपति सी जिनपिङको शुभेच्छा र सन्देश सुनाएकी छिन् । माओवादीको औपचारिक निमन्त्रणामा आएको टोलीले आइतबार नेपालका प्रमुख पार्टीहरूसँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने तय भएको छ । 

चिनियाँ टोलीले सुरुमा प्रधानमन्त्री प्रचण्ड त्यसपछि ओली र अन्तिममा नेपालसँग भेटवार्ता गरेको थियो । चिनियाँ नेता सुनले राष्ट्रपति सी जिनपिङको सन्देश र शुभेच्छा लिएर आफू नेपालका राजनीतिक नेताहरूसँग भेटवार्ताका लागि आएको प्रधानमन्त्रीलाई बताइन् । 

गत असोजमा भएका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको र त्यस क्रममा भएका सहमति कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको पनि उनले बताएकी छिन् । नेपालको आर्थिक र सामाजिक विकासमा क्षमताले भ्याएसम्म सहयोग गर्ने चिनियाँ प्रतिबद्धता थियो । 

प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपति सीलाई आफ्नो सन्देश सुनाइदिन आग्रह गरेका थिए । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेको उनको सचिबालयले जनाएको छ । 

एमाले अध्यक्ष ओलीसँग पनि चिनियाँ नेता सुनले सुरुमै राष्ट्रपतिको सन्देश सुनाएकी थिइन् । ‘चिनियाँ नेताले राष्ट्रपति सीको सन्देश र शुभकामना लिएर भेट्न आएको हुँ भन्नुभयो । तर, शुभकामना र सन्देश के हो चाहिँ भन्नुभएन,’ एमाले विदेश विभाग सदस्य गोपाल खनालले नयाँ पत्रिकासँग भने, ‘नेपालको विकास र समृद्धिका लागि विगतमा पनि चीनले सहयोग गरेको र अब पनि सहयोग गर्ने भन्नुभयो । भविष्यमा चीनले के गर्नुपर्छ, तयार छौँ भन्ने धारणा आयो ।’ 

एक चीन सिद्धान्तप्रति नेपालको निरन्तर प्रतिबद्धता रहँदै आएकोमा उनले प्रशंसा गरिन् । ओलीले नेपालले एक चीन नीति व्यावहारिक रूपमा नै कार्यान्वयन गर्दै आएको र यसमा प्रतिबद्ध रहेको बताएका थिए । एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहकार्य र मित्रता थप सुदृढ गर्ने उपायमा काम गर्न दुवै पक्षले सहमति जनाएका छन् ।

‘हाम्रो पुरानो मित्रता छ । नेपालको विकास र समृद्धिमा चिनियाँ सहयोग निरन्तर रहँदै आएको छ । यसको प्रशंसा गर्छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै खनालले भने । दुई देशबीच विगतमा भएका सहमति र प्रतिबद्धता कार्यान्वयनमा दुवै पक्षको जोड थियो । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको भेटमा पनि चिनियाँ नेताले दुई देश र दुई पार्टीबीचको सम्बन्धमा जोड दिएका छन् । सबै भेटमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयकी उपमन्त्री सुन, चिनियाँ कम्युनिस्ट पार्टीको नेपाल डेस्क प्रमुख जेङ योया (सरला) र अन्य दुईजना प्रतिनिधिमण्डलका सदस्य सहभागी छन् । उनीहरूले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । 

माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आएको टोलीले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ता सकेर टोली सोमबार स्वदेश फर्किनेछ । नयाँ वर्ष २०२४ सुरुवात भएपछि नेपाल आउने यो नै उच्चस्तरीय चिनियाँ टोली हो । 
 

सुझावित समाचार