सुनील र विकलको सिंगापुरको बैंक खातामा अमेरिकाबाट पैसा जम्मा

कमिसनको रकम जम्मा भएको आशंका, एउटै कम्पनीबाट दुवैको खातामा कारोबार

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सूचना प्रविधिको ठेक्कामा शृंखलाबद्ध भ्रष्टाचारको अभियोग खेपिरहेका सुनील पौडेल र विकल पौडेलले सरकारी पदमै रहँदा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली शंकास्पद कारोबार गरेको फेला परेको छ । दुवैले अमेरिका र सिंगापुरका कम्पनीबाट रेमिट्यान्सका रूपमा शंकास्पद कारोबार गरेका हुन् । 

उक्त पैसा भ्रष्टाचारसम्बन्धी लेनदेन भएको आशंका गरिएको छ । दुवैलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । 

सुनीलको ३८०–९४८३१०८ नम्बरको खातामा २ जनवरी २०२२ मा ५८ हजार अमेरिकी डलर जम्मा भएको छ । जुन सिंगापुरकै ब्यानकोटेक नामक कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै उनको खातामा जम्मा गरेको छ । त्यस्तै, ६ डिसेम्बर २०२१ मा अमेरिकाको इन्स्टासेफ नामक कम्पनीले बैंक अफ अमेरिका हुँदै उनको खातामा ७७ हजार पाँच सय ४५ अमेरिकी डलर जम्मा गरेको छ । २ अगस्ट २०२१ मा अमेरिकाको इन्स्टासेफबाटै २४ हजार नौ सय ९५ र २५ अगस्ट २०२१ मा ४७ हजार सात सय ४५ डलर जम्मा भएको छ । यो रकम विभिन्न खरिसम्बन्धी कमिसनको भएको आशंका गरिएको छ । नेपाल टेलिकमका प्रबन्ध–निर्देशक रहेका वेला पौडेलविरुद्ध आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो । 

थप शंकास्पद के छ भने दुवैको खातामा उही कम्पनीबाट रेमिट्यान्सका रूपमा डलर जम्मा भएको छ । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकलको ३८०–९४७२०८४ नम्बरको खातामा अमेरिकाको इन्स्टासेफबाट २ अगस्ट २०२१ मा २४ हजार नौ सय ९५ डलर जम्मा भएको छ । २४ मार्च २०२१ मा ब्यानकोटेकले उनको खातामा रेमिट्यान्सका रूपमा ५० हजार अमेरिकी डलर जम्मा गरेको छ । 

अरू धेरैपटक उनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशमा खाता खोली शंकास्पद कारोबार गरेको भेटिएको छ । सरकारी पदमा रहकै वेला उनीहरूको खातामा यस्तो कारोबार भएको हो । युनाइटेड ओभरसिज बैंकमा खाता खोल्दा दुवैले १२ हिलभ्युवेको एउटै ठेगाना राखेका छन् । विकल अमेरिकाको समेत पिआर भएका व्यक्ति हुन् । भ्रष्टाचार मुद्दा दायर भएपछि दुवैजना धेरैजसो विदेशमै बस्दै आएका थिए । 

दुवैजना ठूला भ्रष्टाचारका मुद्दा खेपिरहेका छन् । गत ३ वैशाखमा पौडेलसहित नौविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । सेक्युरिटी प्रिन्टिङका आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड घोटाला भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको थियो । अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरेको, एउटा देशबाट ल्याउने सम्झौता भएको सामान अन्तैबाट ल्याएको, खरिद सम्झौताविपरीत सामान स्वीकार गरेको, कामै नगरी भुक्तानी दिएको र अनावश्यक पूर्वाधार निर्माण गरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी तथा दुरुपयोग गरेको दाबी अख्तियारको छ । पदमै रहँदा सिंगापुरको एक कम्पनीमा परामर्शदाताका रूपमा नियुक्ति लिएकोसमेत अख्तियारको अनुसन्धानमा खुलेको छ । त्यस्तै, नेसनल पेमेन्ट गेटवे खरिदको २३ करोड २७ लाख ५८ हजार घोटाला काण्डमा दुवैजना प्रतिवादी रहेको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ । ती मुद्दामा उनीहरू अदालतमा उपस्थित भएका छैनन् । विदेशमै भाग्ने तयारी गरेको सूचना पाएपछि उनीहरूलाई बुधबार पक्राउ गरिएको अख्तियारका एक अधिकारी बताउँछन् । 

सरकारमा जो आउँदा पनि शक्तिशाली रहँदै आएका पौडेलद्वयले सूचना प्रविधिसम्बन्धी ठूला ठेक्कामा सेटिङ मिलाएर करोडौँ कमाएको उजुरी अख्तियारमा परेको छ । जसमा आयोगले उनीहरूको घरमा समेत खानतलासी लिएर छानबिन अघि बढाएको छ । 

सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पक्राउ परेका दुवैलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियारलाई अनुमति दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार सात दिनको म्याद थप गरेको हो । 

बुधबारबाट लागू हुने गरी १७ माघसम्म अनुसन्धानका लागि म्याद थप गरिएको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । म्याद थपकै क्रममा उनीहरूले विशेष अदालतमा कानुन व्यवसायी उपस्थित गराई साधारण तारेखमा छुट्न पाउने माग गरेका थिए । तर, भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३१(४)मा ६ महिनासम्म थुनामा राख्ने अनुमति मुद्दा हेर्ने अधिकारीले दिन सक्ने उल्लेख छ ।
 

सुझावित समाचार