क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशीसहित ६ पक्राउ

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पोखराबाट प्रहरीले चार नेपाली र दुई विदेशीसहित ६ जनालाई पक्राउ गरेको छ।

क्यानडा पठाउने भन्दै पोखरा महानगरपालिका– १० बुद्धचोकस्थित होटेल टास्कमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पक्राउ पर्नेहरूमा पोखरा– १३ पाटनबेँसी बस्ने ६५ वर्षकी पार्वती सुनार, पोखरा– ९ महेन्द्रपुल बस्ने ३७ वर्षकी रिता सुनार, स्याङ्जा फेदीखोला गाउँपालिका– ३ बस्ने ३२ वर्षकी सीमा सुनार, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका– १४ कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्। 

यसैगरी, क्यानडाको अलबर्टा राज्य क्यालगोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षका राकेश जैसवाल र भारत मध्यप्रदेश भोपाल जिल्ला भोपाल नगर स्थायी ठेगाना भएका ३२ वर्षका इस्मित कौर रहेका प्रवक्ता विकले जानकारी दिए।

क्यानडा लैजाने भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

अन्तर्वार्ताका लागि भनी प्रतिव्यक्ति दुई हजार रुपैयाँ उठाई अन्तर्वार्ता लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको विकको भनाइ छ। पक्राउ परेकाहरूले क्यानडा जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र सो रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने भनी अन्तर्वार्ता लिएका थिए।

पक्राउ परेकाहरूलाई अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार