राष्ट्रिय सभा निर्वाचन : बागमतीमा शान्तिपूर्ण रूपमा मतदान

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशतर्फको चार सदस्यका लागि यहाँ शान्तिपूर्ण रूपमा मतदान जारी छ । हेटौँडा– ४ स्थित भुटनदेवी माविको मतदान केन्द्रमा मतदान चलिरहेको छ।

राष्ट्रिय सभा सदस्य पदको यही फागुन २० गतेबाट रिक्त हुने १९ पदमध्ये बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यक/अपांगता र दलित गरी चार सिटका लागि मतदान सुरु भएको हो । 

मतदानका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्र निर्धारण गरेर मतदान थालिएको छ । एक मतदान केन्द्रमा चारवटा गरी कुल आठवटा बुथको व्यवस्था गरिएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन्।

बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यक/अपांगता र दलित गरी चार सिटका लागि भइरहेको मतदानमा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् । यस्तै, एमालेका तर्फबाट चार, राप्रपाका तर्फबाट तीन र नेमकिपाका तर्फबाट चारजना उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपांगता क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।

यस्तै, एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार छन् भने राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपांगतार्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपाली उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन् । 

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको कुल मतभार पाँच हजार आठ सय ३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार चार हजार पाँच सय तीन रहनेछ ।

राष्ट्रिय सभामा रहेका एमालेका आठ, कांग्रेसका चार माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक, स्वतन्त्र सांसद एकजना र राष्ट्रपतिले मनाेनीत गर्ने एक गरी २० सांसदको पदावधि यही फागुन २० गतेबाट सकिने भएपछि निर्वाचन हुन लागेको हो । जसमा बागमती प्रदेशबाट चारजना सांसदको पदावधि सकिँदै छ ।

बागमतीबाट पदावधि सकिने सांसदहरूमा स्वतन्त्रबाट खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिलकुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा रहेका छन् ।

सुझावित समाचार