अध्यागमनमा ‘अटोमेसन’ प्रणाली : १० मिनेटभित्रै सेवाग्राहीको काम

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि ‘अटोमेसन’ प्रणाली लागू गरिँदै, अनलाइन भिसा लिन सक्ने प्रणाली बनाउँदै अध्यागमन

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

अध्यागमन विभागले मातहतका १५ वटै कार्यालयमा ‘अटोमेसन’ प्रणाली लागू गरेपछि नेपाल बसेका विदेशी नागरिकले लिने सेवा सहज भएको छ । अध्यागमनमा ‘अटोमेसन प्रणाली’ जडान भएसँगै नेपालमा रहेका विदेशी नागरिकले अब १० मिनेटभित्रै भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति पाउन थालेका छन् । 

७ माघबाट सुरु यस सेवाबाट अहिलेसम्म एक हजार तीन सय ५७ भन्दा धेरै विदेशी नागरिकले भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति लिएको विभागका अधिकारीहरूले जनाएका छन् । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘अटोमेसन’ प्रणाली सुरु भएपछि सेवा प्रवाह सहज र छिटो भएको बताए । 

‘अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिक भिसा नवीकरण, स्थानान्तरण तथा पदयात्रा अनुमति लिन घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले बढीमा १० मिनेटभित्रै सेवा लिन सक्नेछन् । ‘अटोमेसन’ प्रणाली लागू गरिएपछि यो सम्भव भएको हो,’ उनले भने । 

विभागका अनुसार सेवा लिन सेवाग्राही अध्यागमन विभाग र मातहतको १५ वटै कार्यालयमा पुग्न सक्नेछन् । उनीहरूले कार्यालयमा राखिएको क्युएस मेसिनमा फाराम भर्न सक्नेछन् । त्यसलगत्तै सेवाग्राहीको मोबाइल वा इमेलमा कोड नम्बर आउनेछ । सोही कोड लिएर सेवाग्राही अध्यागमनको टेलर जान सक्नेछन् ।

घन्टौँ लाइन बस्नुपर्ने झन्झट हटेको छ  : रुद्रसिंह तामाङ महानिर्देशक, अध्यागमन विभाग

‘अटोमेसन’ प्रणाली सुरु भएपछि सेवा प्रवाह सहज र छिटो भएको छ । नेपालमा रहेका विदेशी नागरिक भिसा नवीकरण, स्थानान्तरण तथा पदयात्रा अनुमति लिन घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले बढीमा १० मिनेटभित्रै सेवा लिन सक्नेछन् । यो सेवा अब त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि लागू हुनेछ । यसका लागि अध्यागमन र कन्सुलरबीच सूचना आदान–प्रदान भइसकेको छ ।

टेलरले अनलाइनबाटै अभौतिक (भर्चुअल) बिल भौचर बनाउनेछ । भौचरमा ‘क्युआर कोड’ आउनेछ । सोही ‘कोड स्क्यान’ गरेर सेवाग्राहीले ‘अनलाइन पेमेन्ट’ गर्न सक्नेछन् । पेमेन्ट सकिएलगत्तै भिसा स्वीकृति भएर आउनेछ । भिसा पासपोर्टमा टाँसेर सेवाग्राही कार्यालयबाट बिदा हुन सक्नेछ । 

विभागका महानिर्देशक तामाङका अनुसार पहिला यही सुविधा लिन सेवाग्राही हाकिमको टेबुल–टेबुल धाउनुपथ्र्यो । यसो गर्दा सेवाग्राहीको कम्तीमा पनि एक घन्टा खर्च हुन्थ्यो । उनका अनुसार अध्यागमनको कार्यालयमा लाइन बस्ने सेवाग्राही हटिसकेका छन् ।

विभागका अनुसार यो सेवा अब त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि लागू हुनेछ । यसका लागि अध्यागमन र कन्सुलरबीच सूचना आदान–प्रदान भइसकेको छ । सेवा सुरु भएपछि कूटनीतिक नियोगसँग सम्बन्धित कर्मचारीले कन्सुलर विभागमै भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति लिन सक्नेछन् । विभागका अनुसार यसपछि ई–भिसा प्रणाली लागू हुनेछ । 

विदेशबाट पनि अनलाइन भिसा लिन सक्ने प्रणालीमा जाँदै अध्यागमन
नेपाल आउन चाहने जोसुकै विदेशी नागरिकले संसारको जुनसुकै मुलुकबाट अनलाइनबाटै भिसा प्राप्त गर्न सक्ने प्रणालीमा जाने तयारी अध्यागमनले गरेको छ । यसका लागि विदेशी नागरिकले सम्बन्धित मुलुकबाटै नेपालको भिसा ‘अप्लाई’ गर्न सक्छ । भिसा ‘अप्रुभ’ भएपछि सम्बन्धित नागरिकको इमेलमा नोटिफिकेसनसहितको ‘क्युआर कोड’ जान्छ । सोही कोडमार्फत उसले भिसा शुल्क भुक्तानी गर्छ । नेपाल आउँछ । विमानस्थलस्थित अध्यागमको डेक्समा पुगेर पासपोर्टमा भिसा टाँस्छ । र, ऊ गन्तव्यतर्फ लाग्छ । 

विभागका महानिर्देशक तामाङले नेपाल सरकारबाट राजस्व संकलन गर्ने डलर खाता सञ्चालनमा आएलगत्तै यो सेवा कार्यान्वयनमा आउने बताए । ‘हामीले प्रणाली विकास गरिसकेका छौँ । तर, राजस्व संकलन गर्न सरकारले डलर खाता खोलेको छैन । त्यसो हुँदा विदेशी नागरिकले भिसाबापतको शुल्क डलरमा भुक्तानी गर्न सक्दैनन् । डलर खाता सञ्चालनमा आएलगत्तै यो सुवा लागू हुनेछ,’ उनले भने । 

अहिले विदेशी नागरिकले नेपालको भिसा प्राप्त गर्न नेपाल नै आउनुपर्छ । विमानस्थलस्थित अध्यागमन कार्यालयमा फराम भर्नुपर्छ । मुद्रा सटही गरेर भिसा शुल्क भुक्तानी गर्नुपर्छ । बिल लगेर अध्यामगनको काउन्टरमा बुझाउनुपर्छ । यसका लागि लाइनमा बस्नुपर्ने हुन्छ । त्यसपछि मात्रै उसले भिसा प्राप्त गर्न सक्छ । यो कार्यका लागि कम्तीमा एक घन्टा समय खर्च हुने गरेको छ ।

सुझावित समाचार