राष्ट्रिय सभा निर्वाचन : बागमतीमा चार सिटका लागि मतदान हुँदै

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशतर्फको चार सदस्यका लागि आज (बिहीबार) मतदान हुँदै छ । बागमती प्रदेशका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका चारजनाको पदावधि यही फागुन २० गते सकिने भएपछि आज चुनाव हुन लागेको हो ।

मतदानका लागि हेटौँडा उपमहानगरपालिका– ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनमा मतदान स्थल तोकिएको छ । मतदानका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । 

एक मतदान केन्द्रमा चारवटा गरी कुल आठवटा बुथको व्यवस्था गरिएको छ । मतदानका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिनुका साथै असक्त र अपांगता भएका मतदाताको हकमा लाइन बस्न नपर्ने गरी मतदानको व्यवस्था गरिएको उनले जानकारी दिए । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन् । मतदान गर्ने समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म रहेको र मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन अधिकृत सञ्जेलले बताए ।

राष्ट्रिय सभा सदस्य पदको यही फागुन २० गतेबाट रिक्त हुने १९ सिटमध्ये बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यक/अपांगता र दलित गरी चार सिटमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् भने एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजना उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपांगता क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।

यस्तै, एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार छन् भने राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपांगतार्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपाली उम्मेदवार छन् ।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले निर्वाचनका लागि विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षा समितिसँगको छलफलबाट निर्वाचन स्थल, मतदान केन्द्र र निर्वाचन कार्यालयको सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई परिचालन गरिने जानकारी दिए ।

उनले पुस २२ गतेदेखि नै निर्वाचन विशेष सुरक्षा योजना लागू गरी कार्यान्वयन गरिएको बताए । उनले निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयको सुरक्षाका लागि सोही दिनबाट प्रहरी अधिकृतको कमान्डमा पाँचजना प्रहरी परिचालन गरिएको बताए । प्रमुख जिल्ला अधिकारी सेढाईंले मतदानका दिन नेपाल प्रहरीका दुई सय ५० र सशस्त्र प्रहरी बलका एक सय २० गरी तीन सय ७० प्रहरी परिचालन गरिएको जानकारी दिए ।

यस्तै, राष्ट्रिय अनुसन्धानका जनशक्तिलाई सूचना संकलन तथा परिचालनमा संलग्न हुने गरी व्यवस्था गरिएको र नेपाली सेनाको टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए । सेनालाई ब्यारेकबाहिर नल्याइने, तर आवश्यकताको आधारमा परिचालनका लागि तयारी अवस्थामा राख्ने निर्णय भएको उनको भनाइ छ ।

सुझावित समाचार