स्वास्थ्य बिमा गरेका नागरिकले सबैभन्दा पहिले सेवा पाउनुपर्छ : मन्त्री जोशी

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालले बिमित बिरामीलाई पहिलो प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।

बुधबार हेटौँडामा आयोजित स्वास्थ्य बिमा बोर्ड बागमतीको प्रदेशस्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्वास्थ्य बिमा बोर्डले आवश्यक विषयमा सुधार गरेर बिमा गरेका नागरिकले तत्काल सेवा पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

अहिले बिमालाई सफल बनाउने नियतले काम नभएको भन्दै मन्त्री जोशी सबै पक्षको सकारात्मक पहलबाट सुधार गर्नुपर्ने बताए। उनले आमनागरिकको स्वास्थ्य उपचार सेवालाई सहज बनाउनुपर्नेमा हाल बिरामीलाई थप सास्ती भइरहेको बताए।

‘बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिन्छ। उनी दोस्रो दर्जाका नागरिक होइनन्। बिमा गरेका नागरिकले सबैभन्दा पहिले र सहज सेवा पाउनुपर्ने हो,’ उनले भने।

बिमा गरेका नागरिकले स्वास्थ्य उपचारका सबै सेवा अस्पतालको बेडमा नै पाउनेगरी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। बिमा गरेका नागरिकले २४ सै घन्टा सेवा पाउनुपर्ने उनको भनाइ छ।

‘राज्यलाई अग्रिम पैसा तिरेर नागरिकले सेवा खरिद गरेका हुन्। उनीहरूलाई पनि त्यहीअनुसारले सेवा दिनुपर्छ। नगद आउँछ भनेर बिमा गरेका नागरिकलाई पछि राख्ने कुरा गलत हो,’ मन्त्री जोशीले भने।

बिमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मन्त्री जोशीले बिमामा प्राप्त हुने औषधिको गुणस्तर कायम गर्ने र सहज रूपमा औषधि पाउने व्यवस्था गर्नुपर्ने बताए।

बिमासहित नागरिकको स्वास्थ्य सेवामा सन्तुलन कायम गरी नागरिकलाई सन्तुष्ट पार्ने गरी काम गर्न उनले निर्देशन दिए।

सुझावित समाचार