कर्णालीसामु काेशी स्तब्ध, ६ विकेटले पराजित

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्यो। 

यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले ६ खेलपछि ६ अंक जोडेको छ। सात खेल खेलेको कोशी प्रदेश अंकविहीन छ। कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए। यसैगरी, विपीन शाहीले २८, हिमांशु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए। 

कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो।

उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए। सौजन घिमिरेले १२ तथा आइस भट्टराईले ११ रन बनाए। कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए। 

सुझावित समाचार