हेटौँडामा १६ वर्षमुनिको विद्यालयस्तरीय टी–२० क्रिकेट हुने

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

यही माघ २० गतेबाट हेटौँडामा दोस्रो संस्करणको स्व. निरज श्रेष्ठ स्मृति यू–१६ विद्यालयस्तरीय टी–२० प्रिमियर क्रिकेट प्रतियोगिता हुने भएको छ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा हेटौँडाका निजी र सामुदायिक गरी १६ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता आयोजक मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिए।

मकवानपुर जिल्ला क्रिकेट टिमका पूर्वकप्तान स्व. निरज श्रेष्ठको सम्झनामा गत वर्षदेखि सुरु भएको प्रतियोगिता हेटौँडा– ४ स्थित हुप्रचौरमा हुनेछ। प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने सचिव बानियाँले बताए।

विद्यालयस्तरीय प्रतियोगिताबाट आगामी चैत महिनामा हुने क्रिकेट प्रतियोगिताका लागि १६ वर्ष उमेर समूहका खेलाडी छनोट गरिने संघका जिल्ला अध्यक्ष करन महत्रा क्षेत्रीले जानकारी दिए। प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट २२ खेलाडी छनोट गरेर प्रशिक्षण दिइने उनले बताए।

प्रतियोगिता आयोजनाका लागि पाँच लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिँदै सचिव बानियाँले प्रतियोगिताको उपाधि विजेता र उपविजेताले प्राप्त गर्ने नगद राशिबारे पछि निर्णय गरिने जानकारी दिए। पहिलो संस्करणको प्रतियोगिताको उपाधि हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको थियो।

सुझावित समाचार