मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यही फागुन १ गतेदेखि छैटाैँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
फागुन १० गते उपाधि भिडन्त हुने प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब, तीन मोफसल र एक विदेशी टोलीको सहभागिता रहने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको छ।
बागमती गाउँपालिका– ८ मा रहेको जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए।
यसअघि पाँचौँ संस्करणमा विजेता टोलीले आठ लाख नगद पुरस्कार प्राप्त गरेको थियो। यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको अध्यक्ष श्रेष्ठले बताए।
उनको अनुसार यस वर्षको प्रतियोगिता सञ्चालनका लागि ७९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गत संस्करणमा ‘ए’ डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।