६ महिनामा साढे २२ अर्ब एफडिआई स्वीकृत

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड ६५ लाखबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ । उद्योग विभागले दुई सय २६ उद्योग तथा परियोजनामार्फत प्रस्ताव गरिएको विदेशी लगानीलाई अनुमोदन गरेको हो । 

विभागले पुसमा मात्रै २७ उद्योगको एक अर्ब ७२ करोड ५९ लाख रुपैयाँ एफडिआई स्वीकृत गरेको छ । एक महिनामा २२ वटा साना र पाँचवटा ठूला उद्योगमार्फत विदेशी लगानीको प्रस्ताव आएको हो । ६ महिनामा विदेशी लगानीको अनुमति पाएका दुई सय २६ उद्योग तथा परियोजनाहरूमध्ये दुई सय ११ साना, १२ वटा मझौला र तीनवटा ठूला रहेका छन् ।

विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा एक सय तीन परियोजनामा विदेशी लगानीको स्वीकृति पाएका छन्, जुन कुल प्रस्तावित एफडिआईको ४५ प्रतिशत हिस्सा हो । पर्यटनअन्तर्गत होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्यासिनोमा बढी विदेशी लगानीको प्रस्ताव आएको देखिन्छ ।

सेवामूलक क्षेत्रमा विभिन्न देशबाट ८३ परियोजनामा लगानीको प्रतिबद्धता आएको छ । यस क्षेत्रमा कुल प्रस्तावित विदेशी लगानीमध्ये ३७ प्रतिशत लगानी प्रतिबद्धता रहेको छ । यस्तै, उद्योगमा चारवटा, सूचना प्रविधिमा सातवटा, उत्पादनमूलकमा २३ वटा, कृषि तथा वन क्षेत्रमा चारवटा र खानीजन्य उद्योगमा दुईवटा उद्योगको विदेशी लगानी प्रस्ताव स्वीकृत भएको छ । 

सुझावित समाचार