कांग्रेसको महासमिति प्रतिनिधि छनोटमा ढिलाइ

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

कांग्रेसको नीति अधिवेशन गर्ने गरी हुन लागेको महसमिति बैठकका प्रतिनिधि छनोटमा ढिलाइ भएको छ । पटक–पटक मिति सारेर बैठक पछाडि धकेलिए पनि प्रतिनिधि छनोट अझै सम्पन्न हुन सकेको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अझै ३५ स्थानबाट प्रतिनिधि छनोट हुन बाँकी छन् । निर्वाचन समितिका अनुसार भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँचीबाट महासमिति सदस्यको विवरण आउन बाँकी छ ।

समयमा प्रतिनिधि छनोट हुन नसकेपछि २० माघसम्मलाई म्याद थप गरिएको छ । समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार दार्चुलालगायत केही स्थानमा भएको निर्वाचनमा विवाद देखिएको छ । ‘महासमिति बैठक पटक–पटक सर्दा पनि प्रतिनिधि छनोटमा ढिलाइ भएको छ । ३५ स्थानको निर्वाचन भएको जानकारी निर्वाचन समितिलाई आएको छैन । केही स्थानमा भएका निर्वाचनको विषयमा उजुरी परेका छन्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

कांग्रेस महासमिति बैठकको मिति तीनपटक सरिसकेको छ । पछिल्लोपटक राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर ७ देखि १० फागुनसम्म पु¥याएको छ । कांग्रेसले सुरुमा १३ देखि १५ मंसिरका लागि महासमिति बैठक तय गरेको थियो । त्यसपछि २९ मंसिरदेखि २ पुस, १६ देखि १९ पुस गर्दै ७ देखि १० फागुन पुर्याइसकेको छ । 

नेताहरूका अनुसार महासमिति बैठकमा गठबन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा असर पर्न सक्ने आकलनसहित पछिल्लोपटक बैठक सारिएको हो । त्यसअघि रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्पलाई देखाएर सारिएको थियो । 

सुझावित समाचार