राजनीतिसँगै उद्यममा लागेकी जुम्लाकी नारायणी

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका– ५ ऐरेनीकी नारायणी चौलागाईंले ३० लाख रुपैयाँ लगानीमा अचार बनाउने व्यवसाय गर्दै आएकी छिन्। स्याउका चाना, सिमी र मार्सी चामलको व्यापार पनि गरिरहेकी उनको मुख्य व्यवसाय भने चोतोको अचार उत्पादन नै हो। उनले लसुनको अचार पनि बनाउने गरेकी छिन्।

नेकपा एमाले कर्णाली प्रदेशकी सदस्यसमेत रहेकी नारायणी दिनभरजसो राजनीतिक गतिविधिमा संलग्न हुन्छिन्। राति अबेरसम्म एक्लै बसेर अचार प्याकिङ र लेभलिङको काम गर्छिन्। स्याउको चाना बनाउने सिजनमा महिनामा १०–१२ जना महिलालाई रोजगारीसमेत दिन्छिन्। अचार भने उनी आफैँले बनाउने गरिरहेकी छिन्।

यो काम देखाउनलाई वा सोखका लागि मात्रै नभई स्वरोजगार हुन गरेको नारायणी बताउँछिन्। ‘मनग्य आम्दानी लिन र कारोबारको दायरा फराकिलो बनाउन हो। उद्योगको वार्षिक कारोबार २० लाखबराबर भइरहेको छ,’ उनले भनिन्, ‘आम्दानी पाँच लाखसम्म भइरहेको छ।’

अचारका लागि चार क्विन्टल जति चोतो कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ भने एक क्विन्टलबराबरको लसुन। उनी चोतो र लसुन गरी दुईथरीको अचार बनाउँछिन्।

नारायणीका श्रीमान् सरकारी जागिरे छन्। घरमा सामान्य खेतीपातीबाट पनि गुजारा चल्ने अवस्था छ। केही नगरी आरामले बस्दा पनि हुने अवस्था रहेकाे उनी बताउँछिन्। तर, आत्मनिर्भर हुँदा आर्थिक स्वतन्त्रता हुने उनको बुझाइ छ। जसका कारण पनि उनी राजनीतिसँगसँगै उद्यमशीलतालाई पनि जोड दिइरहेको बताउँछिन्।

सुझावित समाचार