किशोरावस्थामा चाहिन्छ यस्तो वातावरण

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

टिनएजमा पुगेपछि बालबालिकाकोे स्वभाव परिवर्तन हुन थाल्छ । यतिवेला सिकेका र सिकाइएका पाठले जीवनमा ठूलो अर्थ राख्ने भएकाले अभिभावक र परिवारका सदस्यले बच्चाहरूलाई सही रूपमा मार्गदर्शन र वातावरण दिन सक्नुपर्छ । 

टिनएजमा शारीरिकसँगै बालबालिकाको मानसिक विकास पनि तीव्र रूपमा हुन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा आउने कन्टेन्ट तथा घरपरिवार तथा समाजमा हुने गफगाफले बच्चालाई प्रभावित गरिरहेको हुन्छ । त्यही कारण, बच्चाहरूको चाहनालाई बुझेर अभिभावकले त्यहीअनुसार उनीहरूलाई मागदर्शन गर्नुपर्छ । उनीहरू कस्ता कुरामा रमाउँछन्, कस्तो खेल्छन्, कतिखेर सुत्छन् ? यी कुराहरूलाई अभिभावकले ख्याल गर्नुपर्छ । 

किशोरावस्थामा धेरैमा जिद्दीपन देखिन्छ । चाहेको कुरा नपाउँदा निराश हुने पनि हुन सक्छ । डिजिटल युगमा विश्वका धेरै घटनाक्रम र व्यक्तिलाई बच्चाहरूले पछ्याइरहेका हुन्छन् । आफ्नो आदर्श व्यक्तिजस्तै बन्न चाहनु स्वाभाविक पनि हो । तर, यथार्थ फरक हुन सक्छ । यस विषयमा अभिभावक सचेत रहनुपर्छ र बच्चालाई सकारात्मक रूपमा मार्गदर्शन दिन सक्नुपर्छ । उनीहरूलाई सफलता प्राप्त गर्नका लागि संघर्ष गर्न सिकाउनुपर्छ । 

बच्चाहरूलाई सफल हुन अभिप्रेरित गर्नुपर्छ । तर, यसको अर्थ जित्ने दबाब दिनुपर्छ भन्ने होइन । हाम्रो शिक्षाले असफलतालाई स्विकार्न सिकाएको छैन । जब कि उनीहरूलाई हामीले जीवनमा असफलता पनि एउटा पक्ष हो र यसले भविष्यमा सफलताको जग बसाल्छ भनेर बुझाउन जरुरी छ । कतिपयले सानो असफलताबाटै कुलतमा लाग्ने, हात काट्ने, डिप्रेसन हुने, आत्महत्या गर्नेजस्ता व्यवहार पनि देखाइरहेका हुन्छन् । त्यसैले पनि हामीले असफलतामा खुसी हुने र विचलित नहुने उपाय किशोर–किशोरीलाई सिकाउन जरुरी छ । 

कसरी रिस प्रकट गर्ने ? खुसी व्यक्त गर्ने ? आफ्ना मनोभावहरूलाई नियन्त्रण गर्ने ? सिर्जनशील बन्नेलगायत विषय पनि अभिभावकले सिकाउनुपर्छ । यसका लागि अभिभावकहरूले बालबच्चासँग साथीभाइजसरी नै प्रस्तुत हुने र उनीहरूका भनाइ र भावना सुन्ने गर्नुपर्छ । अभिभावकले बच्चालाई पढ्न, खेल्न, सिनेमा हेर्ने, पुस्तक पढ्नेलगायत काममा उत्प्रेरित गर्नुपर्छ । उनीहरूले पढेका विषयमा छलफल गर्ने, सिनेमा हेर्न सँगै जाने र त्यस विषयमा उनीहरूका राय सुनेर आफ्नो टिप्पणी राख्नेलगायत कार्य गर्नाले उनीहरूले पनि सम्मानित महसुस गर्छन् ।

सुझावित समाचार