गाजा युद्धका त्रासदीपूर्ण सय दिन

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएको छ। 

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजापट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत सय दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ।’

लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजार एक सय ४० जनाको मृत्यु भएको थियो।

थप दुई सय ५० जनालाई बन्धक बनाइएको र तीमध्ये १३२ जना गाजामै रहेको र २५ जनाको मृत्यु भएको अनुमान गरिएको इजरायली अधिकारीहरूले बताएका छन्। ‘बन्धक र उनीहरूका परिवारका लागि सय दिनको समय निराशा र चिन्ताबीच बितेको छ,’ लाजारिनीले भने।  

इजरायलले गत अक्टोबर ७ देखि गाजामा आक्रमण गर्दा कम्तीमा २३ हजार ८ सय ४३ जनाको मृत्यु भएको प्यालेस्टिनी  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लाजारिनीका अनुसार बालबालिकाको एउटा सिंगो पुस्ता ‘आघातमा परेको’ छ र निको हुन वर्षौँ लाग्नेछ। उनले भने, ‘बालबालिकालगायत अन्य मानिस अमानवीय अवस्थामा बाँचिरहेका छन्, रोगहरू फैलिरहेका छन्। तिनीहरू बाँच्न नसक्ने ठाउँमा बाँचिरहेका छन् र समय अनिकालतिर लम्किरहेको छ।’ रासस 

सुझावित समाचार