आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सिइओमा बाबुराम शर्मा नियुक्त

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।

भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रूपमा साढे तीन वर्षअगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सिइओमा बढुवा गर्ने निर्णय गरेको हो ।  

डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका  थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै चार वर्ष आइएमई मोटर्स वीरगन्जको प्रमुखसमेत भएर काम गरेका थिए । 

सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनमा  बैंकिङ र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट इएमबिएसमेत गरेका छन् । 

आइएमई ग्रुपअन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको छ । 

लगातार चार वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आइपिओसमेत निष्कासन गर्ने तयारी रहेको बुझिएको छ ।

सुझावित समाचार