संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बंगलादेशको आमचुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ। अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःखसमेत व्यक्त गरेको छ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षी दलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेकी छिन्।
पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ। विज्ञप्तिमार्फत अमेरिकाले बंगलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ।
हाल जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीको बहिष्कारबीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन्।
अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ। अमेरिकाले बंगलादेशी सरकारलाई हिंसाको छानबिनका लागि आग्रह गरेको छ।
यसैगरी, स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बंगलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको अमेरिकाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि साझा दृष्टिकोणलाई अगाडि बढाई बंगलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ।
डेली स्टारका अनुसार शेख हसिनाको पार्टीले १२औँ संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ। जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनर्स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाइएको छ।
प्रमुख विपक्षी बिएनपी र अन्य १५ दलको बहिष्कारबीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।