रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण
रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार

धारिलो हतियार प्रहारबाट घाइते भएका भलिवल खेलाडी विशाल कार्की

घटनामा संलग्न  ६ जना प्रहरीकाे नियन्त्रणमा

बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ ।दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार मावि, पीपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ । सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए । 

‘छिमेकी पालिका डिलाशैनीबाट खेल हेर्न आएका केही युवाले खेलाडीमाथि सोमबार साँझ आक्रमण गरेको खबर आएको थियो । प्रहरीले राति साढे १० बजेसम्म ६ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक जोशीले भने । 

पक्राउ गरिएकाहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयका अनुसार राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको थियो । 

सोमबारको खेल सकिएलगत्तै विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए । त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले रातिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले मंगलबार बिहानैदेखि खेल नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । 
 

सुझावित समाचार