नाबालिगसँग यौनक्रियामा संलग्न हुनेमा बिल क्लिन्टनदेखि हकिङसम्मको नाम सार्वजनिक

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

बालबालिकालाई वेश्यावृत्तिका लागि प्रयोग गरेर कुख्याति कमाएका जेफ्री एप्सटिनसम्बन्धी अदालतमा बुझाइएका सयौँ गोप्य दस्ताबेज यो साताबाट सार्वजनिक गर्न सुरु गरिएको छ । अमेरिकी न्यायाधीश लोरेटा प्रस्काले यस प्रकरणमा मुछिएकाहरूको नाम गोप्य राख्नुपर्ने कुनै कानुनी आधार नरहेको भन्दै सार्वजनिक गर्न आदेश जारी गरेकी थिइन् ।

यस प्रकरणमा मुछिने चर्चित नाममा ब्रिटिस(राजा चाल्र्सका भाइ) राजकुमार एन्ड्रयु, पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, ब्रिटिस वैज्ञानिक स्टेफन हकिङलगायत छन् । पीडित भर्जिनिया गिउफ्रेले एप्सटिनकी सहयोगी घिसलेन म्याक्सवेल एप्सटिनको यौन बेचबिखनको धन्दामा संलग्न भएको मुद्दा दायर गरेको कैयौँ वर्षपछि नाम सार्वजनिक गर्न लागिएको छ । गिउफ्रेले सन् १९९९ देखि २००२ सम्म आफू नाबालिग रहँदा यौनहिंसा भएको आरोप लगाएकी छिन् ।

थुनामा राखेर अनुसन्धान चलिरहँदा एप्सटिनले सन् २०१९ को अगस्टमा न्युयोर्कको जेलमा झुन्डिएर आत्महत्या गरेका थिए । ‘डो ३६’ भनेर चिनाइएका पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनको नाम अदालतको दस्ताबेजमा ५० पटक उल्लेख छ । भर्जिनिया गिउफ्रेले क्लिन्टनमाथि यौनहिंसाको आरोप नलगाए पनि उनले क्लिन्टनलाई एप्सटिनको टापुमा दुई नाबालिगसँग देखेको बताएकी छिन् । 

क्लिन्टनले यो दाबीलाई खारेज गर्दै आइरहेका छन् । आरोपलाई अस्वीकार गरे पनि उनले राष्ट्रपति पद छाडेपछि एप्सटिनकै विमान प्रयोग गरी पेरिस, बैंकक र ब्रुनाई पुगेको विमानको तथ्यांकले देखाएको थियो । अर्का पीडित जोहाना जोबर्गले एप्सटिनले एकपटक बिल क्लिन्टनलाई ‘साना उमेर’का किशोरीहरू मनपर्ने कुरा बताएको उल्लेख गरेकी छिन् । क्लिन्टन अमेरिकी राष्ट्रपति रहँदा ह्वाइट हाउसमा इन्टर्न गर्न आएकी २२ वर्षीया मोनिका लेबेन्स्कीसँग अवैध सम्बन्ध रहेको सार्वजनिक भएको थियो ।

त्यस्तै, चर्चित वैज्ञानिक स्टेफन हकिङको नाम पनि दस्ताबेजमा उल्लेख छ । सन् २०१५ मा भर्जिनियाले मुद्दा दर्ता गरेपछि म्याक्सवेलले एप्सटिनलाई इमेल लेखेर ‘प्राध्यापक हकिङ नाबालिगसँग सामूहिक यौन क्रियाकलापमा संलग्न भएको दाबी’ झुटो देखाउन भर्जिनियाका साथीहरूलाई ‘रकम’ को व्यवस्था गर्न आग्रह गरेकी थिइन् । 

उता ब्रिटिस राजपरिवारका सदस्य राजकुमार एन्ड्रयुमाथि पनि यौन गतिविधिमा संलग्न भएको आरोप छ । भर्जिनियाले सन् २००१ को मार्चमा आफूलाई राजकुमार एन्ड्रयुकहाँ पुर्याएको दाबी गरेकी छिन् । नाइट क्लबमा पुगेपछि म्याक्सवेलले उनलाई ‘आफूले जेफ्रीका लागि गर्ने कुरा एन्ड्रयुका लागि गर्न’ निर्देशन दिएकी थिइन् । राजकुमार एन्ड्रयुले भने आफूले कहिले पनि भर्जिनियालाई नभेटेको दाबी गर्दै आएका छन् । थप नाम सार्वजनिक हुँदा को–को पोलिने हुन् भनेर अहिले विश्वभर कुतूहल छाएको छ । 

सुझावित समाचार