जापानमा भूकम्प : मृतकको संख्या ७८ पुग्यो, ५१ बेपत्ता

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन्। 

जापानका प्रधानमन्त्री फुमियो किसिदाले विपतको पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन्। 

जापानको विपत् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिए। 

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्त्वपूर्ण रहने तथा त्यसपछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन्।

प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ। वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ।

रिपोर्टअनुसार वाजिमाको तटमा विपत् सफाइ कार्यको लागि एउटा जहाज खटाइएको छ। भग्नावशेष र अवरुद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ। शक्तिशाली भूकम्पको तीन दिनपछि इसिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो। 

भूकम्पपछि सुनामीले इसिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ।

इसिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ।

सुझावित समाचार