आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमाले गण्डकी प्रदेशले नौजनाको नाम केन्द्रमा पठाएको छ।
राष्ट्रिय सभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ। गण्डकीमा अन्य, महिला र अपांग गरी तीन क्लस्टरका एक - एकजनाको पद रिक्त हुँदै छ।
रिक्त स्थानमा हुन लागेको निर्वाचनका लागि एमालेले प्रदेशका सम्भावित उम्मेदवारहरूको नाम बुधबार केन्द्रमा पठाएको प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए। प्रदेश समितिको बैठकले पार्टी केन्द्रको निर्देशनअनुसार एक क्लस्टरका लागि तीन गरी नौजनाको नाम केन्द्रमा पठाएको शर्माले जानकारी दिए।
जसअनुसार खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्याय छन्। अपांग निर्वाचन क्षेत्र/ अल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना बराम छन्।
महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम एमाले गण्डकीले केन्द्रमा सिफारिस गरेको हो।
गण्डकीमा हुने निर्वाचनमा प्रदेश सभाका ६० र प्रदेशका ११ जिल्लामा रहेका ८५ वटा पालिकाका प्रमुख र उपप्रमुख १७० जना गरी कुल दुई सय ३० जनाले मतदान गर्नेछन्। निर्वाचनमा प्रदेशका एक मतदाताको मतभार ५३ र पालिकाको एक मतको मतभार १९ गरी गण्डकीको कुल मतभार ६ हजार ४१० छ।
२३० मतदातामध्ये प्रदेशतर्फ २२ र पालिकाका ६८ गरी ९० जना मतदाता एमालेका छन्। प्रदेशको कुल मतभारमध्ये एमालेको प्रदेशतर्फ एक हजार १६६ र पालिकातर्फ एक हजार २९२ गरी कुल दुई हजार ४५८ मतभार छ।