बालकुमारी घटना : ज्यान गुमाएका युवालाई सहिद घोषणा गरिने

पीडित परिवारका एक–एक सदस्यलाई रोजगारी

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीसँगको झडपमा मृत्यु भएका दुई युवकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने समझदारी भएको हो ।

 प्रदर्शनमा मृत्यु भएका अछामका वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहवर बसेका छन् । 

सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुुर्‍याउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ । रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा उनीहरूको मृत्यु भएको थियो । शाहको प्रहरीको गोली लागेर तथा राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो । 

सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाका विषयमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेको छ । आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी तथा गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई छन् । आयोगलाई एक महिनाको कार्यादेश दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि डिआइजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

 घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप छ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित र ललितपुरका एसएसपी सिद्धिविक्रम शाहलाई हटाएको छ भने फिल्डमा खटिएका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ ।

 पूर्वएआइजी नवराज ढकाल भन्छन् ‘भिड नियन्त्रणको सिद्धान्तअनुसार फिल्डमा काम हुनुपर्छ । यसका लागि प्रहरीलाई स्रोत, साधन र तालिम पुगेको छैन ।’

भिड नियन्त्रणमा बारम्बार किन चुक्दै छ प्रहरी ? 
 गत वर्ष १ फागुनमा काठमाडौंको गोंगबुमा प्रदर्शनकारीले प्रहरीकै गाडी जलाइदिए भने ल्होत्से मलमा लुटपाट गरे । देशको राजधानीमै लुटपाट गरिँदा र प्रहरीको गाडीमै आगजनी हुँदा पनि सुरक्षामा चुकेको भन्दै प्रहरी आलोचित भयो । केही प्रहरी अधिकारी कारबाहीमा पनि परे । 

शुक्रबार ललितपुरको बालकुमारी–ग्वार्काे क्षेत्रमा त्यस्तै भयो । दुवै घटनाको समानता के छ भने दुवै प्रदर्शनको नेतृत्व कसैले गरिरहेका थिएनन् । गोंगुबमा यातायातका मजदुरले स्वस्फूर्त रूपमा प्रदर्शन गरेका थिए भने बालकुमारीमा कोरिया जाने परीक्षा दिन नपाएका युवा भड्किएर आन्दोलनमा उत्रिएका थिए । कुनै पनि व्यक्तिले नेतृत्व नगरेको आन्दोलन जतिसुकै वेला भड्किएर हिंसात्मक बन्न सक्छ भन्ने विश्लेषण गर्न नसक्दा दुवै घटनामा प्रहरी आलोचित बनेको छ । 

गोंगबुको घटनामा समयमै बल प्रयोग नगर्दा प्रहरी आलोचित बनेकोमा शुक्रबार भने अत्यधिक बल प्रयोग गरेकोमा प्रहरीमाथि छानबिन भइरहेको छ । शुक्रबार आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका छन् । घटनाको विषयमा छानबिन गर्न सोमबार जाँचबुझ आयोग गठन भएको छ । 

विगतमा पनि भिड नियन्त्रणमा प्रहरी  बारम्बार चुक्दै आएको छ । गत असोजमा पोखराको मणिपाल अस्पतालमा आन्दोलन हुँदा प्रहरीले चिकित्सकमाथि निर्मम कुटपिट गरेको थियो । इन्स्पेक्टर मदन श्रेष्ठले अस्पतालभित्रै चिकित्सकमाथि कुटपिट गरे । बिरामीको मृत्यु भएपछि आन्दोलन भइरहेको अवस्थामा प्रहरीले आन्दोलनकारीलाई खुसी बनाउन चिकित्सकमाथि बल प्रयोग गरेको थियो । जुन घटनामा इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरी छानबिन चलिरहेको छ । सो घटनापछि देशभरका चिकित्सकले आन्दोलन गरेका थिए । 

गत साउन तेस्रो साता काठमाडौंको टेकुमा प्रहरी कार्यालय घेराउ गर्न गएका व्यक्तिमाथि पनि अत्यधिक बल प्रयोग गर्दा प्रहरी विवादमा पर्‍यो । गत वर्ष वैशाखमा मिटरब्याजपीडितमाथि रत्नपार्कमा प्रहरीले निर्मम कुटपिट गरेपछि गृहमन्त्रीले नै माफी माग्नुपर्‍यो । माइतीघर–बानेश्वर क्षेत्रमा हुने प्रदर्शनमा पनि पटक–पटक प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग हुने गरेकोमा प्रहरी विवादमा पर्दै आएको छ । 

फिल्डमा खटिने प्रहरीको आत्मविश्वासमा कमी हुँदा पनि कहिलेकाहीँ अनावश्यक बल प्रयोग हुन सक्ने नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको विश्लेषण छ । प्रहरीलाई फिल्डमा स्पष्ट आदेश र उच्च मनोबलका साथ खटाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘भिड नियन्त्रणको सिद्धान्तअनुसार फिल्डमा काम हुनुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि प्रहरीलाई स्रोत, साधन र तालिम पुगेको छैन ।’ तर, कुनै घटनामा छानबिन नै नगरी निलम्बन गर्ने प्रवृत्तिले भोलिका दिनमा फिल्डमा थप समस्या आउन सक्ने उनको भनाइ छ । 

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी प्रहरी आफैँ राज्यबाट पीडित भएकाले त्यसको असर भिड नियन्त्रणमा देखिने गरेको बताउँछन् । ‘बालकुमारीको घटना राज्यबाट पीडित भएका प्रहरी र बेरोजगार युवाबीचको झडप हो, यहाँ दुवै पीडित पक्ष छन्,’ उनले भने, ‘प्रहरीको मनोबल उच्च बनाउन राजनीतिक नेतृत्वबाट हस्तक्षेप बन्द गर्नुपर्छ ।’ राजनीतिक कारणले नै समाजमा वितृष्णा बढ्दै गएको र त्यो असन्तुष्टि सडकमा पोखिने भएकाले आगामी दिनमा भिड व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै जाने भण्डारी बताउँछन् । 

सुरक्षाविद् नारायण अधिकारी प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी तालिम र आवश्यक सामग्रीको व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउँछन् । भिड नियन्त्रणमा पछिल्लोपटक देखिएको कमजोरीका पछाडि धेरै कारण रहेको र तीमध्ये एउटा प्रहरीको खस्किएको मनोबल भएको उनको बुझाइ छ । ‘त्यसकारण यस्ता घटनाको विषयमा प्रहरीमाथि मात्र नभई सबै निकायमाथि छानबिन हुनुपर्छ,’ उनले भने । 

कतिपय अवस्थामा अन्य निकायसँग समन्वयको अभावले पनि क्षति हुने गरेको छ । भिड नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बल हरेक जिल्लामा खटिएको छ । तर, समयमै समन्वय नहुँदा पनि कतिपय घटनामा बढी क्षति हुने गरेको छ । शुक्रबारको घटनामा पनि सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले दिएको विश्लेषणलाई प्रहरीले गम्भीरताका साथ नलिएको आरोप लागेको छ ।

सुझावित समाचार