दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ । 

सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘प्योङयाङको जासुसी जनरल ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।’

उनको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल संगठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ । 

रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक–सम्बन्धित खनिज र संयुक्त राष्ट्रसंघद्वारा स्वीकृत सामग्री लिथियम–६ को व्यापार’मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि पनि प्रतिबन्ध लगाएको छ । 

कालोसूचीमा परेका व्यक्तिहरूलाई सोलको पूर्वअनुमतिविना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्य रूपमा प्रतीकात्मक हुन् । 

सोलले अहिले गत वर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालोसूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ । 

उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताएका थिए ।

‘उत्तर कोरियाको उत्तेजनाले अनिवार्य रूपमा मूल्य तिर्नुपर्ने हाम्रो सरकारले स्पष्ट गरेको छ,’ सोलको विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा भनेको छ, ‘उत्तेजना बन्द गर्न र आणविक निशस्त्रीकरणका लागि वार्तामा सहभागी गराउन अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सहयोग जारी राख्ने तथ्यबाट हाम्रो सरकारले उत्तर कोरियालाई महसुस गराउनेछ ।’

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङले गत वर्ष मात्रै क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढी चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधि’मार्फत सूचना एकत्रित गरेर आफ्नो हतियार कार्यक्रममा सहयोग गरेको थियो ।

सुझावित समाचार