प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्रीको सम्बोधनलाई कसले के भने ?
आशा गर्न सकिने सम्भावना छन् : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीले घोषणामार्फत कमजोरी भएका विषयमा आत्मसमीक्षा गर्नुभएको छ । केही आत्मालोचना गर्नुभएको छ । साथै नयाँ सुरुवात गर्ने संकल्प पनि गर्नुभएको छ । उहाँलाई शंकाको सुविधा दिनुपर्छ । आशा जगाउन नसकेको खण्डमा जिम्मेवारीमा रहन्न भन्नुभएको छ । शासकीय सुधार आयोग बनाउने, त्रिविमा भागबन्डा नगर्नेलगायतका महत्वपूर्ण कुरा आएका छन् । जुन हेर्दा सानो लागे पनि गरेर देखाउन सकिने खालका छन् । यी विषय नै सुशासनको प्रस्थानविन्दु बन्न सक्छन् । कार्यशैली बदल्ने र अपरिहार्य कार्यक्रमबाहेकमा सहभागी नहुने घोषणा गर्नुभएको छ । यी कुराले आशा गर्न सकिने सम्भावना छन् ।
एक वर्ष केही गर्न सकिएन भन्ने घुमाउरो स्वीकारोक्ति : प्रदीप ज्ञवाली, उपमहासचिव
पहिलो, प्रधानमन्त्रीले सरकारले गरेको एक वर्षको कामको समीक्षा होइन, नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभो । त्यसैले आवधिक सम्बोधनको ढाँचा नै मिल्दो छैन । कार्यशैली बदल्छु, अब सुध्रिन्छु भन्नुको तात्पर्य एक वर्ष केही गर्न सकिएन भन्ने घुमाउरो स्वीकारोक्ति हो ।
दोस्रो, उहाँले सम्बोधनमा महत्वपूर्ण तथ्यहरूको ढाकछोप गर्नुभएको छ । देशमा छाएको आर्थिक मन्दी, अर्थतन्त्रमा देखिएको शिथिलता बढिरहेको छ । विकास परै जाओस्, आन्तरिक राजस्वबाट कर्मचारीलाई तलबसमेत दिन नसकिने जुन अवस्था सिर्जना भएको छ, त्यसलाई उहाँले स्वीकार गर्नुभएन ।
तेस्रो, उहाँले अबका दिनमा जे–जे काम गर्छु भन्नुभएको छ, त्यसको आर्थिक स्रोत के हो ? अब गर्छु भन्नु शतप्रतिशत हावादारी आश्वासन हो ।
चौथो, सरकारले भ्रष्टाचारको जालो तोडो, कारबाही गरेँ भन्ने जे कुरा गर्नुभएको छ, ती सबै तथ्यहरूले हावादारी साबित गर्छ । ललितानिवास काण्डमा सत्तागठबन्धनकै नेता मुछिँदै जाँदा, सुन तस्करी प्रकरणमा भिआइपीहरूमाथिको कारबाही रोकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण पनि प्रकारन्तरणमा त्यस्तै देखियो।
बोल्ड डिसिजनको अपेक्षा थियो, फेरि निराश भयौँ : मुकुल ढकाल, महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
प्रधानमन्त्रीले केही दिनअघि र्याडिकल केही गर्छु भन्नुभएको समाचारहरू आएका थिए । सम्बोधनमा अधिकांश वाक्य ‘गर्नेछु’मै टुंगिए । फेरि एकपटक जनतामाझ आश्वासनका पुलिन्दा पस्केर जानुभयो । सम्बोधन सुन्दा यस्तो लाग्यो कि, आज मात्रै उहाँले शपथ खानुभयो र यो–यो काम गर्नेछु भनेर प्रण गर्दै हुनुहुन्छ । तर, झल्याँस्स याद आयो, यो त प्रधानमन्त्री भएको एक वर्षपछिको सम्बोधन हो ।
सरकारले राम्रो कामको थालनी गरेको छ : देवेन्द्र पौडेल, सचिव, माओवादी
एक वर्षको बीचमा जे काम भएको छ, त्यही काम सम्बोधनमार्फत आएको छ । कानुन, विधि, प्रक्रियाको अल्झन हुँदाहुँदै पनि सरकारले राम्रो कामको थालनी गरेको छ । आर्थिक अवस्था सन्तोषजनक नहुँदा पनि विगतको सरकारको तुलनामा वर्तमान सरकारले निकै प्रभावकारी रूपमा काम गरेको छ । विशेष गरी सुशासनको क्षेत्रमा राम्रो काम गरेको छ ।
प्रधानमन्त्रीको हुटहुटीअनुसार मन्त्रालयहरूले काम गर्न सकेको देखिँदैन : प्रा.डा. शिवराज अधिकारी, प्रमुख, केन्द्रीय अर्थशास्त्र विभाग, त्रिवि
प्रधानमन्त्रीले रिफर्म (सुधार) गर्न खोजेको देखिन्छ । नीतिहरू पनि सोहीअनुसार बनाउनुभएको छ । तर, कार्यान्वयनमा चुक्नुभएको छ । उहाँले समस्या पहिल्याउन सक्नुभएको छ, तर सामाधान दिन सक्नुभएको छैन । निर्देशन दिएर मात्रै समस्या समाधान हुँदैन । खासमा प्रधानमन्त्रीको हुटहुटीअनुसार मन्त्रालय र अन्य संस्थाले पनि काम गर्न सकेको देखिँदैन ।
अर्थतन्त्र सुधार प्रधानमन्त्रीको हातमा मात्रै हुँदैन । उहाँमा हुटहुटी देखिए पनि अर्थ मन्त्रालय, योजना आयोगलगायत संस्थाले सोहीअनुसार काम गर्न सकेनन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच अनावश्यक विवाद देखियो, तर राष्ट्रिय योजना आयोगले भूमिका निर्वाह नै गर्न सकेन । नीतिगत मार्गनिर्देशन गर्न नै सकेन । सरकारका तर्फबाट मुख्य गरी पुँजीगत खर्च गर्नुपर्ने थियो, तर हुन सकेन ।
जहाँसम्म सिद्धान्त तथा प्राथमिकता फागुनमै प्रस्तुत गर्ने कुरा छ, त्यो पनि कस्मेटिक हो । बजेट छिटो ल्याउने, राम्रो ल्याउने विषयमा हामी अगाडि नै छौँ, त्यसको कार्यान्वयनमा मात्रै हामी पछाडि परेका हौँ । छलफल, योजना र निर्देशन त आइरहेका छन् । तर, त्यसको कार्यान्वयन हुन नसकेको मात्रै हो । हामीलाई रिफर्मका लागि योजना होइन, कार्यान्वयन चाहिएको छ ।